२०८३ साउन ३० , शनिबार
सम्पादकीय

अब कामले परिणाम देखाउनुपर्छ



कर्णाली नदीमा प्रस्तावित ४ सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना कर्णालीका लागि एउटा ठूलो सम्भावना हो । करिब ९३ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना अघि बढ्नु ऊर्जा उत्पादनका दृष्टिले मात्र होइन, स्थानीय पूर्वाधार, रोजगारी, आयआर्जन र समग्र आर्थिक गतिविधिका हिसाबले पनि महत्वपूर्ण विषय हो । लामो समयदेखि कानुनी, प्राविधिक र प्रक्रियागत जटिलतामा अल्झिएको आयोजनाले निर्माणपूर्वका कामलाई तीव्रता दिन थालेको खबर सकारात्मक छ । आयोजनाबाट उत्पादन हुने ४ सय ३९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनु कर्णालीको मात्र नभई मुलुककै ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण हुनेछ । नेपालमा विद्युत् उत्पादन बढिरहेको अवस्थामा आन्तरिक खपत विस्तार र बाह्य बजारको सम्भावनासमेत बढ्दै गएको छ । त्यसैले उत्पादनसँगै प्रसारण लाइन र विद्युत् बजारको व्यवस्थापनलाई पनि समयमै अघि बढाउनुपर्छ । जलाशय क्षेत्रलाई पर्यटनसँग जोड्ने आयोजनाको सोच पनि सकारात्मक छ । करिब २२ किलोमिटर लामो जलाशयलाई व्यवस्थित रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके विद्युत् आयोजनाबाट हुने लाभ ऊर्जा उत्पादनमा मात्र सीमित रहने छैन। स्थानीय होटल, यातायात, कृषि, व्यापार तथा रोजगारीका क्षेत्रमा समेत यसको प्रभाव विस्तार हुन सक्छ ।

आयोजना निर्माणका क्रममा स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय, प्रभावित नागरिकको हित संरक्षण, वातावरणीय जिम्मेवारी र पारदर्शी कार्यप्रणाली आवश्यक हुन्छ । आयोजनाबाट स्थानीय जनताले के पाउने भन्ने विषय पनि स्पष्ट हुनुपर्छ । रोजगारी, सीप विकास, स्थानीय पूर्वाधार र सामाजिक विकासमा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गर्न सके आयोजना अझ दिगो बन्न सक्छ । अब बेतन कर्णालीका लागि सबैभन्दा ठूलो चुनौती कामको गति कायम राख्नु हो । एक वर्षभित्र मुख्य निर्माणमा प्रवेश गर्ने र निर्माण सुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य महत्वाकांक्षी छ । लक्ष्य निर्धारण गर्नु राम्रो हो, तर त्यसलाई व्यवहारमा उतार्न सम्बन्धित मन्त्रालय, आयोजना व्यवस्थापन, लगानीकर्ता, स्थानीय तह र प्रभावित समुदायबीच निरन्तर समन्वय आवश्यक छ ।

त्यसैले बेतन कर्णाली फेरि कागज, प्रक्रिया र विवादमै सीमित हुने छुट छैन । जग्गा, वन, मुआब्जा, वित्तीय व्यवस्थापन, प्रसारण र अन्य बाँकी प्रक्रिया तोकिएको समयमै टुंग्याएर आयोजना वास्तविक निर्माणमा प्रवेश गर्नुपर्छ । बेतन कर्णाली केवल एउटा जलविद्युत् आयोजना होइन, कर्णालीको जलस्रोतलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्ने एउटा महत्वपूर्ण अवसर हो । यो अवसरलाई सफल बनाउन अब आश्वासनभन्दा परिणाम, घोषणाभन्दा काम र ढिलाइभन्दा गति आवश्यक छ । आयोजना समयमै सम्पन्न भयो भने यसले कर्णालीको ऊर्जा, अर्थतन्त्र, पूर्वाधार र रोजगारीको क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ । त्यसैले सम्बन्धित सबै पक्षले साझा जिम्मेवारीका साथ बेतन कर्णालीलाई समयमै निर्माण सम्पन्न हुने राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा अघि बढाउनुपर्छ ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार