२०८३ साउन २९ , शुक्रबार
फ्रन्ट पेज

दशौँ राष्ट्रिय खेलकुदको नयाँ मितिसँगै मंसिरमा प्रतियोगिता हुने आशा

लामो समयदेखि पटक पटक स्थगित हुँदै आएको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो ।


सुर्खेत । लामो समयदेखि पटकपटक मिति तोकिँदै स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नयाँ मिति तय गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको १२५औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

तर पटकपटक मिति तोकिए पनि पूर्वाधार, आर्थिक स्रोत, प्रशासनिक तयारीलगायत विभिन्न कारणले प्रतियोगिता सञ्चालन हुन सकेको छैन । नयाँ मिति तय भएसँगै यसपटक भने प्रतियोगिता निर्धारित समयमै हुने अपेक्षा गरिएको छ । राखेप बोर्ड बैठकमा सहभागी एक सदस्यका अनुसार दशौँ राष्ट्रिय खेलकुदका लागि मंसिर १६ देखि २९ गतेसम्मको समय तय गरिएको हो । उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारीलाई अब तीव्रता दिनुपर्ने अवस्था छ ।

दशौँ राष्ट्रिय खेलकुदको आयोजना कर्णाली प्रदेशका लागि विशेष महत्वको विषय हो । प्रदेशमै पहिलोपटक ठूलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएकाले यसलाई कर्णालीको खेल क्षेत्रको विकाससँगै पूर्वाधार निर्माण र खेलाडी उत्पादनका दृष्टिले समेत महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

पटकपटक स¥यो प्रतियोगिता

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा नवौँ राष्ट्रिय खेलकुदको समापनकै क्रममा गरिएको थियो । २०७९ कात्तिक,मंसिरमा गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापनका क्रममा दशौँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरिएको थियो ।

तर तोकिएको समयमा कर्णालीका खेल पूर्वाधार पूर्ण रूपमा तयार नभएपछि प्रतियोगिता सञ्चालन हुन सकेन । त्यसपछि प्रतियोगिताको मिति पटकपटक परिवर्तन हुँदै आएको छ । पहिलोपटक तोकिएको मितिमा प्रतियोगिता हुन नसकेपछि २०८१ चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरिएको थियो । तर उक्त मितिमा पनि प्रतियोगिता सञ्चालन हुन सकेन ।

त्यसपछि पुनः २०८२ जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता गर्ने निर्णय भयो । तयारी पूरा नभएपछि त्यो मिति पनि कार्यान्वयनमा आउन सकेन । चौथोपटक फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको थियो । तर आर्थिक स्रोतको अभाव देखाउँदै उक्त समयमा पनि प्रतियोगिता आयोजना हुन सकेन । त्यसपछि राखेपले पुनः जेठमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो । तर विभिन्न कारणले जेठको प्रस्तावित मितिमा समेत दशौँ राष्ट्रिय खेलकुद आयोजना हुन सकेन ।

निर्णय फेरिए, प्रतियोगिता भएन

दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्ने र सार्ने क्रमसँगै प्रतियोगिता आयोजना हुने विषयमा अन्योलसमेत बढ्दै गएको थियो । पछिल्लो चरणमा तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले २०८२ फागुनमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका थिए ।

तर प्रतियोगिता आयोजना हुनुअघि नै मन्त्री गुप्ताले पदबाट राजीनामा दिएर निर्वाचनमा जाने तयारी गरेपछि उक्त निर्णयअनुसार पनि प्रतियोगिता सञ्चालन हुन सकेन । यसरी पूर्वाधार, बजेट, प्रशासनिक तयारी र नेतृत्व परिवर्तनलगायत कारणले दशौँ राष्ट्रिय खेलकुद पटकपटक अन्योलमा पर्दै आएको छ । प्रतियोगिताको मिति पटकपटक तोकिए पनि कार्यान्वयन हुन नसक्दा खेलाडी, प्रशिक्षक, खेल संघ तथा आयोजक प्रदेशमा समेत निराशा बढेको थियो ।

कर्णालीको तयारीमा चुनौती

अब मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएपछि कर्णाली प्रदेशले बाँकी तयारीलाई तीव्र बनाउनुपर्ने देखिएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक खेल मैदान, खेलाडीको आवास, यातायात, सुरक्षा, स्वास्थ्य सेवा तथा अन्य व्यवस्थापनका काम समयमै पूरा गर्नुपर्ने चुनौती छ ।

कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुदका लागि केही खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिको काम भए पनि सबै पूर्वाधार पूर्ण रूपमा तयार भइसकेका छैनन् । यसअघि पूर्वाधारकै कारण प्रतियोगिता सारिएको पृष्ठभूमिमा अब बाँकी काम तोकिएको समयभित्र सम्पन्न गर्नु प्रदेश सरकार, प्रदेश खेलकुद विकास परिष्द, र राखेप तथा सम्बन्धित निकायका लागि मुख्य चुनौती हुनेछ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुनु प्रदेशको खेल क्षेत्रका लागि ठूलो अवसर पनि हो । प्रतियोगिताले कर्णालीका खेलाडीलाई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेल पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि बढाउनसमेत सहयोग पु¥याउन सक्छ ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार