सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–६ स्थित बिउरेनीको जंगलबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार शुक्रबार बिहान करिब १० बजे तिर जंगलमा भरुवा बन्दुक लुकाइराखिएको गोप्य सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा ८ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काठ दाउराको थुप्रोको बीचमा लुकाइछिपाइ राखिएको अवस्थामा चार थान भरुवा बन्दुक फेला पारेको हो । बरामद भएका बन्दुकमध्ये तीन थान लोडेड जस्तो देखिने र एक थान खाली अवस्थामा रहेको प्रहरीले जनाएको छ। बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार








