हुम्ला । नेपाल–चीन सीमा क्षेत्र हिल्सामा नेपालतर्फबाट अस्थायी क्वारेन्टिन स्थापना गरिने भएको छ । लामो समयदेखि स्थानीयवासीले हिल्सामा क्वारेन्टिन कार्यालय स्थापना गर्न माग गर्दै आए पनि आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा माग सम्बोधन हुन सकेको थिएन । अहिले भने नाकाबाट हुने व्यापारिक गतिविधिलाई मध्यनजर गर्दै अस्थायी रूपमा क्वारेन्टिन सञ्चालन गर्ने तयारी अघि बढाइएको हो ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हिल्सा नाकाबाट हुने सामानको आयात–निर्यातको अवस्था हेरेर क्वारेन्टिन सेवा सञ्चालन गरिनेछ । कर्मचारी संरचना हालै स्वीकृत भएकाले नेपालगन्जमा शाखा स्थापना गरी त्यहीँबाट हिल्साको क्वारेन्टिन व्यवस्थापन गर्ने योजना विभागले बनाएको छ । हिल्सामा आवश्यकताअनुसार दुई जनासम्म कर्मचारी परिचालन गरिने जनाइएको छ । हुम्लावासीले विसं २०७० देखि नै हिल्सामा क्वारेन्टिन स्थापना गर्न माग गर्दै आएका छन् ।
नाका वर्षभरि सञ्चालनमा नआउने भएकाले हालका लागि नाका खुलेको अवधिमा मात्र क्वारेन्टिन सञ्चालन गरिनेछ । नाका बन्द भएपछि कर्मचारीलाई नेपालगन्ज फिर्ता गर्ने र क्वारेन्टिन सेवा पनि अस्थायी रूपमा बन्द गर्ने विभागको योजना छ । कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुणामणि पन्तले अस्थायी भए पनि क्वारेन्टिन स्थापना हुनु सकारात्मक कदम भएको बताए ।
उनका अनुसार क्वारेन्टिन सञ्चालनमा आएपछि हुम्लाका रैथाने बाली, फलफूल, जडीबुटी तथा अन्य स्थानीय उत्पादन चीनतर्फ निर्यात गर्ने बाटो सहज हुने अपेक्षा गरिएको छ । हाल हिल्सा नाकाबाट चीनबाट सामान आयात भइरहे पनि नेपालतर्फबाट चीनमा स्थानीय उत्पादन निर्यात गर्न क्वारेन्टिनसम्बन्धी व्यवस्था नहुँदा समस्या हुँदै आएको छ । अस्थायी क्वारेन्टिन सञ्चालनपछि व्यापारिक चाप र आवश्यकताको मूल्याङ्कन गरी भविष्यमा स्थायी क्वारेन्टिन स्थापना गर्न विभागलाई आधार तयार हुने अपेक्षा गरिएको छ ।









