२०८३ भदौ १० , बुधबार

किशोरकिशोरीलाई लैङ्गिक हिंसाविरुद्ध साथी शिक्षा



जुम्ला । बालविवाह, बहुविवाह, महिनावारी विभेद, जातीय विभेद तथा लैङ्गिक हिंसाजस्ता सामाजिक विकृति न्यूनीकरण गर्न जुम्लाका किशोरकिशोरीलाई साथी शिक्षा प्रदान गरिएको छ । लैङ्गिक हिंसाका घटना भएमा उजुरी तथा रिपोर्टिङ गर्ने प्रक्रिया, पीडितको संरक्षण, गोपनीयता र सुरक्षित सेवामा पहुँचका विषयमा किशोरकिशोरीलाई जानकारी गराइएको हो ।

प्लान नेपालको सहयोगमा पेस नेपाल र क्याड नेपाल जुम्लाले सञ्चालन गरिरहेको ‘सशक्त बालिका तथा सुरक्षित समाज’ परियोजना अन्तर्गत तीनदिने तालिम आयोजना गरिएको हो । सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकाका २१ जना किशोरकिशोरी तालिममा सहभागी भएका थिए। तालिममा लैङ्गिक हिंसासम्बन्धी उजुरी रिपोर्टिङ संयन्त्र तथा संरक्षणका विषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रम संयोजक राजेश एरीका अनुसार लैङ्गिक हिंसाका घटना पहिचान गरी प्रभावकारी रूपमा उजुरी तथा रिपोर्टिङ गर्न सक्ने क्षमता विकास गर्नु तालिमको मुख्य उद्देश्य हो । पीडित तथा प्रभावित व्यक्तिको सुरक्षा, गोपनीयता, सम्मानजनक व्यवहार र सुरक्षित सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा समेत सहभागीलाई जानकारी दिइएको उनले बताए । तालिमका सहभागी गोविन्द खत्रीले आफूले सिकेका विषयलाई विद्यालय तथा समुदायस्तरसम्म पुर्‍याउने बताए ।

उनका अनुसार विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बालविवाह, लैङ्गिक हिंसा तथा विभेदविरुद्ध किशोरकिशोरीलाई सचेत गराइनेछ । उजुरी दर्ता तथा रिपोर्टिङ प्रक्रिया, पीडितको सुरक्षा र सम्बन्धित निकायसँग समन्वय गर्ने विषयमा समेत जानकारी बाँडिने उनले बताए । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईले तालिमबाट प्राप्त ज्ञान समुदायसम्म पुर्‍याउन सहयोग पुग्ने बताए । क्याड नेपाल जुम्लाका अध्यक्ष जयलक्ष्मी चौलागाईले सुरक्षित, सम्मानजनक र प्रभावकारी उजुरी प्रणाली विकास गर्न किशोरकिशोरीलाई सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले हिंसामुक्त समाज निर्माणमा किशोरकिशोरीको भूमिका महत्वपूर्ण हुने बताए । उनले किशोरकिशोरीले आफूले सिकेको ज्ञान साथी, परिवार र समुदायमा बाँड्न सके लैङ्गिक हिंसाविरुद्ध सचेतना बढ्ने विश्वास व्यक्त गरे । तालिमपछि सहभागीले विद्यालय तथा समुदायमा साथी शिक्षा र सचेतनामूलक गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार