काठमाडौं । शिक्षकलाई सवारीसाधन खरिद गर्न ब्याजमा सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार शिक्षकको श्रेणी र तहका आधारमा सवारीसाधन खरिदका लागि निश्चित रकमसम्मको सुविधा उपलब्ध गराउने तयारी गरिएको हो। प्रस्तावमा माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था राखिएको छ।
त्यसैगरी, माध्यमिक तहका तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
नियमावलीको प्रस्तावित व्यवस्थाअनुसार बैंकमार्फत सवारीसाधन खरिद गर्दा लाग्ने लागतको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले सहुलियतस्वरूप व्यहोर्नेछ। बाँकी २० प्रतिशत रकम भने शिक्षक स्वयंले व्यवस्थापन गर्नुपर्नेछ।
शिक्षक सेवामा बहाल रहुन्जेल सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने प्रस्ताव गरिएको छ। यस व्यवस्थाबाट शिक्षकलाई सवारीसाधन खरिद गर्न आर्थिक सहजता हुने अपेक्षा गरिएको छ।
शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिका लागि नियमावली पठाएको भए पनि प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउन आवश्यक प्रक्रिया पूरा हुन बाँकी छ। त्यसैले शिक्षकले पाउने सुविधाको अन्तिम स्वरूप नियमावली स्वीकृत भएपछि स्पष्ट हुनेछ।






