२०८३ मंसिर ८ , मंगलबार

जुम्लामा कर्णाली प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना हुँदै



जुम्ला । कर्णाली प्रदेशमा भलिबल खेलको विकास र खेलाडीबीच आपसी एकता अभिवृद्धि गर्ने उद्देश्यले जुम्लामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

स्वर्गीय राष्ट्रिय भलिबल खेलाडी भुवन केसी र दीर्घबहादुर खत्रीको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। सरस्वती युवा क्लब, चन्दननाथ नगरपालिका–७ मिचाको आयोजनामा तथा जिल्ला खेलकुद विकास समिति जुम्लासँगको समन्वयमा आगामी कात्तिक ७ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका संरक्षक तथा कर्णाली भलिबल संघका सदस्य लक्ष्मीबहादुर रावलले जानकारी दिनुभयो।

उहाँका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लाका खेलाडीलाई एउटै मञ्चमा सहभागी गराउँदै खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै प्रदेशमा भलिबल खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ५१ हजार एक सय रुपैयाँ र दोस्रो हुने टोलीले एक लाख एक हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका संरक्षक चेतनबहादुर रावलले बताउनुभयो। प्रतियोगितामा सहभागी हुन टोली दर्ता शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ।

भलिबल प्रतियोगितासँगै क्लबले जिल्लास्तरीय दोहोरी गीत प्रतियोगिता पनि आयोजना गर्ने भएको छ। दोहोरी गीत प्रतियोगितामा प्रथम हुने टोलीलाई ३० हजार एक सय रुपैयाँ र दोस्रो हुने टोलीलाई २० हजार एक सय रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका सचिव प्रकाश रावलले जानकारी दिनुभयो। उक्त प्रतियोगितामा सहभागी हुन तीन हजार रुपैयाँ टोली दर्ता शुल्क तोकिएको छ।

आयोजकका अनुसार दुवै प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति जुम्ला र ग्रीनल्याण्ड होटलमा टोली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। खेलकुद र लोकसंस्कृतिको प्रवर्द्धनलाई सँगसँगै अघि बढाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताले जुम्लाको खेलकुद गतिविधि चलायमान बनाउनुका साथै स्थानीय स्तरमा सांस्कृतिक कार्यक्रमको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार