२०८३ भदौ १३ , शनिबार

कर्णालीका दुई सय आठको अवस्था अझै अज्ञात



सुर्खेत । भोटेकोसीको बाढी पश्चात कर्णालीका दुई सय आठ जना सम्पर्कविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार परिवारको सम्पर्कमा नरहेका दुई सय ६५ मध्ये ५७ जना सम्पर्कमा आएका छन् । अन्यको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । परिवार तथा आफन्तहरुको सम्पर्कमा नरहेकाहरु अधिकांश रसुवा र नुवाकोट लिल्लामा जलविद्युत आयोजनामा कार्यरत मजदुर छन् ।

प्रहरीको पछिल्लो अध्यावधिक तथ्यांक अनुसार बाढी पश्चात सम्पर्कविहीन हुनेहरु जुम्लाका धेरै छन् । जुम्लाबाट ९० पुरुष हालसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । यस्तै, सल्यानबाट ४१ पुरुष, ११ महिला, दुई बालक र एक बालिका गरी ५५ जना परिवारको सम्पर्कमा छैनन । सुर्खेतका १६ पुरुष, एक महिला गरी १७, दैलेका चार पुरुष र एक महिला गरी पाँच, जाजरकोटका दुई पुरुष र एक महिला गरी तीन जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमबाट पाँच पुरुष, चार महिला र एक बालिका गरी १०, हुम्लाका चार पुरुष, दुई महिला र एक बालिका गरी सात, डोल्पाका एक पुरुष र एक महिला गरी दुई, मुगुका आठ पुरुष, चार महिला र एक बालक गरी १३ र कालीकोटका तीन पुरुष, दुई महिला, एक बालक गरी ६ जनाको अवस्था अज्ञात रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए । उनले बाढी पश्चात सम्पर्कविहीन भएकाहरुकाे विवरण दिन आग्रह गरिएकाले संख्यामा तलमाथि हुने बताए ।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार