२०८३ भदौ १७ , बुधबार
फ्रन्ट पेज

कृषि पढ्दै, उत्पादन गर्दै र बजारमा बेच्न सिक्दै विद्यार्थी

विद्यालयले शिक्षासँग सीप, उत्पादन र बजारलाई जोड्दै कृषि ज्ञान तथा उद्यमशीलताको स्थानीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।


दैलेख । भगवतीमाई गाउँपालिकास्थित श्री ज्वाला माध्यमिक विद्यालयका विद्यार्थी अहिले कक्षाकोठामा कृषि विषयको सैद्धान्तिक ज्ञानमा मात्र सीमित छैनन् । उनीहरू विद्यालयको बारीमा पुगेर कृषि उत्पादन गर्छन्, उत्पादित वस्तुको प्रशोधन गर्छन् र त्यसलाई बजारसम्म पु¥याउने अभ्याससमेत गरिरहेका छन् । कक्षा ९ देखि १२ सम्म सञ्चालित कृषि प्राविधिक धारले विद्यार्थीलाई पढाइसँगै उत्पादन, प्रशोधन र बजारीकरणको व्यावहारिक ज्ञान दिन थालेको हो ।

कृषि शिक्षालाई व्यवहारसँग जोड्ने उद्देश्यले विद्यालयले विद्यार्थीलाई विभिन्न कृषि उपज उत्पादनमा सहभागी गराउँदै आएको छ । विद्यार्थीले विद्यालयको बारीमा प्रयोगात्मक रूपमा धान, मूला, विभिन्न प्रजातिका च्याउ, डल्ले खुर्सानीलगायतका कृषि उपज उत्पादन गरेका छन् । उत्पादनपछि त्यसलाई कच्चा पदार्थका रूपमा मात्र बिक्री नगरी विभिन्न परिकार तथा प्रशोधित वस्तुमा रूपान्तरण गर्ने अभ्याससमेत गराइएको विद्यालयले जनाएको छ ।

विद्यार्थीले बारीमा उत्पादन गरेको धानबाट चामल तयार गरेका छन् । त्यस्तै मूलालाई परम्परागत रूपमा तयार गरिने सिन्कीमा प्रशोधन गरिएको छ भने विभिन्न प्रजातिका च्याउ र डल्ले खुर्सानीबाट अचार बनाउने अभ्यास गरेका छन् । यसरी उत्पादनदेखि प्रशोधनसम्मको प्रक्रियामा विद्यार्थी आफैं सहभागी हुँदा उनीहरूले कृषि उत्पादनको वास्तविक प्रक्रिया बुझ्ने अवसर पाएका छन् । उत्पादित वस्तुलाई बजारसम्म पु¥याउन आवश्यक तयारीसमेत भइरहेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाका अनुसार कृषि शिक्षाको उद्देश्य विद्यार्थीलाई खेतबारीमा उत्पादन गर्न सिकाउनुमा मात्र सीमित छैन । उत्पादनपछि त्यसको प्रशोधन, प्याकेजिङ, मूल्य निर्धारण र बजारीकरणका विषयमा समेत विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने प्रयास भइरहेको छ । यसले विद्यार्थीलाई कृषि क्षेत्रलाई परम्परागत खेतीका रूपमा मात्र नभई उद्यम र रोजगारीको सम्भावनासँग जोडेर हेर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ ।

विद्यालयका कार्यक्रम संयोजक मनसुन दाहालका अनुसार कृषि उपजलाई कच्चा पदार्थका रूपमा बिक्री गर्नुभन्दा त्यसको प्रशोधन गरी मूल्य अभिवृद्धि गर्ने सीप विद्यार्थीलाई सिकाउन खोजिएको छ । ‘हाम्रो उद्देश्य विद्यार्थीलाई कक्षाकोठाको चौघेरामा मात्र सीमित नराखी उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण भ्यालु चेनमा जोड्नु हो,’ उनले भने, ‘विद्यालयलाई कृषि ज्ञान, आधुनिक प्रविधि र स्थानीय समुदायबीचको सेतुका रूपमा विकास गर्दैछौं ।

विद्यालयले कृषि शिक्षालाई स्थानीय समुदायसँग जोड्ने योजनासमेत अघि सारेको छ । विद्यार्थीले विद्यालयमा सिकेको प्राविधिक ज्ञान समुदायका किसानसम्म पु¥याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ । त्यसका लागि स्थानीय तहमा माटो परीक्षण शिविर सञ्चालन गरी किसानलाई आवश्यक प्राविधिक परामर्श दिने योजना बनाइएको छ ।

त्यस्तै स्थानीय तथा लोपोन्मुख बीउ संरक्षणका लागि विद्यालयमै बीउ बैंक स्थापना गर्ने योजना पनि अघि सारिएको छ । स्थानीय किसानसँग प्रत्यक्ष प्राविधिक सहकार्य गरी आधुनिक कृषि प्रविधिबारे जानकारी आदानप्रदान गर्ने विद्यालयको तयारी छ । यसबाट विद्यार्थीले पाठ्यक्रममा सिकेको ज्ञानलाई समुदायमा प्रयोग गर्ने र स्थानीय किसानले पनि नयाँ प्रविधि तथा प्राविधिक जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

प्रधानाध्यापक रामबहादुर थापाले कृषि शिक्षालाई सीप र उत्पादनसँग जोड्ने उद्देश्यले विद्यार्थीलाई प्रयोगात्मक अभ्यासमा प्राथमिकता दिइएको बताए । उनका अनुसार कृषि विषय अध्ययन गरेका विद्यार्थीले आफ्नो सीपलाई भविष्यमा रोजगारी तथा उद्यमसँग जोड्न सकून् भन्ने उद्देश्यले विद्यालयमै उत्पादन र बजारीकरणको अभ्यास गराइएको हो ।

‘शिक्षासँग सीप, सीपसँग उत्पादन र उत्पादनसँग बजार जोड्ने अभियान हो,’ उनले भने, ‘यसले कृषि अध्ययनको विषय मात्र नभई आम्दानी र रोजगारीको आधार पनि हो भन्ने बुझाउन सहयोग गर्छ । नेपालमा कृषि शिक्षा लिने विद्यार्थीलाई पढाइ सकेपछि कृषि क्षेत्रमा आकर्षित गर्न चुनौती रहँदै आएको अवस्थामा ज्वाला माध्यमिक विद्यालयको अभ्यासले शिक्षालाई उत्पादनसँग जोड्ने प्रयास गरेको देखिन्छ । विशेषगरी ग्रामीण क्षेत्रमा विद्यालयमै उपलब्ध जमिन, स्थानीय स्रोतसाधन र परम्परागत ज्ञानको उपयोग गर्दै विद्यार्थीलाई आधुनिक कृषि प्रविधिसँग परिचित गराउने अभ्यास प्रभावकारी हुनसक्ने देखिन्छ ।

विद्यालयले आगामी दिनमा स्थानीय स्रोत र प्रविधिमा आधारित कृषि उद्यमलाई प्राथमिकता दिने जनाएको छ । विद्यार्थीले उत्पादन गरेका वस्तुको गुणस्तर सुधार, प्रशोधन तथा बजार व्यवस्थापनमा थप अभ्यास गराउने विद्यालयको तयारी छ । यससँगै कृषि क्षेत्रमा सम्भावना भएका स्थानीय उत्पादनको पहिचान गरी तिनलाई व्यावसायिक रूपमा अघि बढाउने लक्ष्य पनि विद्यालयले राखेको छ ।

स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजलाई प्रशोधन गरी बजारमा पु¥याउन सके किसान तथा विद्यार्थी दुवैका लागि आम्दानीको अवसर सिर्जना हुन सक्छ । विद्यालयले विद्यार्थीलाई त्यही सम्भावनासँग जोड्न खोजेको हो । विद्यार्थीले विद्यालयमा सिकेको प्रविधि र सीप घर तथा समुदायमा प्रयोग गर्न सके त्यसको प्रभाव विद्यालयको सीमाभन्दा बाहिरसम्म पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार