सुर्खेत । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कर्णाली प्रदेशका २६७ जना नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ । तीमध्ये ७० जना आफन्त तथा सम्बन्धित निकायको सम्पर्कमा आए पनि १९७ जनाको अवस्था अझै अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भोटेकोशीमा आएको बाढी
रसुवा, १० भदौः
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार सम्पर्कविहीन हुनेमा १६३ पुरुष, २७ महिला, चार बालक र तीन बालिका छन्। बाढीपछि रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा रोजगारीका सिलसिलामा पुगेका कर्णालीवासीसँग सम्पर्क हुन नसकेको भन्दै आफन्तले प्रहरी तथा प्रशासनमा जानकारी गराएका थिए ।
उपलब्ध विवरणले बाढीको प्रभाव भौगोलिक रूपमा रसुवामा सीमित देखिए पनि त्यसको मानवीय असर कर्णालीका विभिन्न जिल्लासम्म फैलिएको देखाउँछ । रोजगारीका लागि घरबाट टाढा पुगेका नागरिक अचानक सम्पर्कविहीन भएपछि उनीहरूका परिवारमा चिन्ता र अनिश्चितता बढेको छ ।
सम्पर्कविहीनको सूचीमा जुम्लाका सबैभन्दा धेरै छन् । जुम्लाका ११० जना सम्पर्कविहीन भएको जानकारी आफन्तले प्रहरी तथा प्रशासनमा गराएका थिए । तीमध्ये २७ पुरुष र एक महिला गरी २८ जना सम्पर्कमा आएका छन्। तर ८२ पुरुष अझै सम्पर्कविहीन छन् । जुम्लाबाट रोजगारीका लागि ठूलो संख्यामा नागरिक रसुवा र आसपासका क्षेत्रमा पुगेको देखिएकाले जिल्लाका परिवारमा बाढीपछि थप त्रास फैलिएको छ । सम्पर्कमा नआएका व्यक्तिहरू कहाँ छन् भन्नेबारे यकिन जानकारी नहुँदा आफन्तहरू प्रहरीको पछिल्लो विवरणको प्रतीक्षामा छन् ।
सल्यानका ५९ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएकोमा चार पुरुष सम्पर्कमा आएका छन् । ५५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । त्यस्तै, सुर्खेतका १७ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने १४ जनाको अवस्था अज्ञात छ । दैलेखका सात जनामध्ये दुई जना सम्पर्कमा आए पनि पाँच जना अझै सम्पर्कविहीन छन् ।
जाजरकोटबाट सम्पर्कविहीन भएका तीनै जनाको अवस्था पनि अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रुकुम पश्चिमका १९ जनामध्ये १० जना सम्पर्कमा आएका छन् । बाँकी चार पुरुष, चार महिला र दुई बालिका गरी १० जना सम्पर्कविहीन छन् ।
हुम्लाबाट सम्पर्कविहीन भएका १४ जनामध्ये सात जना अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । मुुगुुमा ११ जना, डोल्पाका दुई जना तथा कालिकोटका तीन पुरुष, दुई महिला र एक बालक गरी छ जना पनि सम्पर्कविहीन छन् ।
यसरी जिल्लागत विवरण हेर्दा जुम्ला, सल्यान, रुकुम पश्चिम, सुर्खेत, हुम्ला, दैलेख, मुुगुु, जाजरकोट, डोल्पा र कालिकोटका नागरिक बाढीपछि सम्पर्कविहीन भएको देखिन्छ । प्रहरीका अनुसार सम्पर्कविहीन भएका अधिकांश कर्णालीवासी रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट र त्रिशूली क्षेत्र पुगेका थिए । कर्णालीबाट रोजगारीका लागि देशका विभिन्न क्षेत्रमा जाने नागरिकको संख्या ठूलो रहेकाले प्राकृतिक विपत्तिका बेला उनीहरूसँग सम्पर्क स्थापित गर्न कठिनाइ हुने गरेको छ ।
भोटेकोशीको बाढीपछि सञ्चार सम्पर्क अवरुद्ध हुनु, प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा खोजी कठिन हुनु र नागरिकहरू एक ठाउँबाट अर्को ठाउँमा विस्थापित हुनुले सम्पर्कविहीनको वास्तविक अवस्था यकिन गर्न चुनौती थपेको छ ।
अहिले प्रहरी तथा प्रशासनसमक्ष प्राप्त विवरण आफन्तले दिएको सूचनामा आधारित रहेकाले सम्पर्कविहीन भनिएका सबै व्यक्ति बाढीमै परेका हुन् वा सुरक्षित स्थानमा पुगेपछि परिवारसँग सम्पर्क गर्न नसकेका हुन् भन्ने विषयमा थप खोजी आवश्यक देखिएको छ ।
सम्पर्कविहीन व्यक्तिका परिवारका लागि प्रत्येक नयाँ प्रहरी विवरण आशा र निराशाबीचको प्रतीक्षा बनेको छ । केही नागरिक सम्पर्कमा फर्किएसँगै सुरक्षित रहेको खबरले परिवारलाई राहत मिले पनि ठूलो संख्यामा मानिसको अवस्था अझै अज्ञात रहँदा चिन्ता कायमै छ ।
प्रहरीले सम्पर्कमा आएका व्यक्तिहरूको विवरण अद्यावधिक गर्दै जाने र बाँकी व्यक्तिको अवस्थाबारे खोजी तथा समन्वय भइरहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य अघि बढेसँगै सम्पर्कविहीनको संख्या र उनीहरूको वास्तविक अवस्थाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।
हालसम्मको प्रहरी विवरणअनुसार कर्णालीका २६७ जना सम्पर्कविहीन भएको प्रारम्भिक जानकारीमध्ये ७० जना सम्पर्कमा आएका छन्, भने १९७ जनाको अवस्था अज्ञात छ । तीमध्ये सबैभन्दा ठूलो संख्या जुम्लाका नागरिकको छ, जहाँ मात्रै ८२ जना अझै सम्पर्कविहीन छन् ।
कुमाख र त्रिवेणी गाउँपालिकाको सहयोग
रसुवा तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाको काम भइरहेको छ । यसैबिच सल्यानका कुमाख र त्रिवेणी गाउँपालिकाले पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
कुमाख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
गाउँपालिकाले बाढीमा परी सम्पर्कविहीन तथा बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार, घाइतेको सहज उपचार र विस्थापितको सुरक्षित पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष लालबहादुर रावतले विपद्को कठिन समयमा प्रभावित परिवारलाई सहयोग र राहत उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए । उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय र सहकार्य गर्ने उनले जानकारी दिए ।
यस्तै, त्रिवेणी गाउँपालिकाले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नगद रकम सहयोग गर्ने निर्णय गरेको हो ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा उपचार, सम्पर्कविहीन व्यक्तिको खोजी तथा प्रभावित नागरिकको राहत व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराउने निर्णय गरिएको छ । बाढीपछि सम्पर्कविहीन भएका त्रिवेणी गाउँपालिकाका ११ जना नागरिकको खोजीका लागि पनि प्रभावित क्षेत्रमा टोली परिचालन गर्ने निर्णय समेत गरिएको गाउँपालिकाले जनाएको छ ।
रोजगारीका सिलसिलामा रसुवा तथा नुवाकोटका त्रिशूली नदी आसपासका क्षेत्रमा गएका र बाढीपछि सम्पर्कमा नआएका नागरिकको खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी छ ।
खोज तथा उद्धारका लागि गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको नेतृत्वमा स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रभावित परिवारका आफन्तसहितको टोली प्रभावित क्षेत्रमा जाने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । यसरी दुवै स्थानीय तहले बाढीपीडितका लागि आर्थिक सहयोगसँगै बेपत्ता नागरिकको खोज तथा उद्धारमा समेत सक्रियता देखाएका छन् । उक्त बाढीपछि सल्यान जिल्लाका मात्रै ५० जना बढी नागरिक सम्पर्कविहीन छन् ।








