२०८३ भदौ १७ , बुधबार
सम्पादकीय

पूर्वतयारीमा कमजोरी नगरौँ



कर्णालीमा बर्खायाम सुरु भएसँगै बाढी, पहिरो र डुबानको जोखिम हरेक वर्ष दोहोरिन्छ । दैलेखका नदी तथा खोला किनारमा विकसित भएका बजार र बस्तीमा यस वर्ष पनि जोखिम बढ्दै गएको छ । लगातारको वर्षाका कारण नदी, खोला र खहरेमा पानीको बहाव बढ्दै जाँदा नौमुले, बेस्तडा, तल्लो तथा माथिल्लो डुङ्गेश्वर, चुप्रा, छामघाट, लोहोरे, राकम कर्णाली, पाल्तडा र रामघाटलगायतका बजार उच्च जोखिममा पर्नु सामान्य विषय होइन । यी क्षेत्रमा बाक्लो बस्ती र ठूलो संख्यामा व्यापारिक प्रतिष्ठान रहेकाले विपद् आएमा मानवीय र आर्थिक क्षति गम्भीर हुन सक्छ । सबैभन्दा चिन्ताको विषय के हो भने जोखिमबारे हामीलाई हरेक वर्ष जानकारी हुन्छ, तर पूर्वतयारी भने विपद् नजिकिएपछि मात्रै तीव्र पार्ने प्रवृत्ति अझै हट्न सकेको छैन । नदी तथा खोलाको किनारमा अव्यवस्थित बस्ती विस्तार, कमजोर सडक संरचना, पर्याप्त नाला तथा निकासको अभाव र जोखिमयुक्त भू–भागमा निर्माण गरिएका संरचनाले विपद्को सम्भावित क्षति झन् बढाएका छन् ।

दैलेखका ११ वटै स्थानीय तहका बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा निगरानी बढाइएको प्रशासन र सुरक्षा निकायको भनाइ सकारात्मक छ । तर निगरानी मात्र पर्याप्त हुँदैन। जोखिमयुक्त बस्तीको पहिचान, नियमित सूचना प्रवाह, उद्धार मार्गको तयारी, आवश्यक उद्धार सामग्रीको व्यवस्थापन तथा स्थानीयस्तरमै खोज तथा उद्धार टोली परिचालन गर्ने प्रणाली प्रभावकारी बनाउन आवश्यक छ । यसैगरी सडक र पुललाई पनि प्राथमिकतामा राख्नुपर्छ । वर्षाका कारण ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित हुने भएकाले सडक खुलाउने पूर्वतयारी आवश्यक छ । विपद् व्यवस्थापनलाई केवल सुरक्षाकर्मीको जिम्मेवारी ठान्ने प्रवृत्ति अन्त्य गर्दै स्थानीय सरकार, प्रशासन, प्रहरी, नागरिक समाज र समुदायबीच प्रभावकारी समन्वय हुनुपर्छ ।

अर्कोतर्फ, दैलेख मात्र होइन, जाजरकोट, रुकुम पश्चिम र कालिकोटका सदरमुकामसमेत पहिरोको जोखिममा छन् । विशेषगरी २०८० को भूकम्पले कमजोर बनाएको जाजरकोट खलंगाको भू–भागमा वर्षाले थप जोखिम निम्त्याउन सक्छ । यस्तो अवस्थामा जोखिम थाहा हुँदाहुँदै सम्भावित क्षतिको प्रतीक्षा गर्नु बुद्धिमानी होइन । अबको आवश्यकता विपद् आएपछि उद्धार गर्ने होइन, विपद् आउनुअघि नै क्षति न्यूनीकरण गर्ने हो । स्थानीय तहले जोखिमयुक्त बस्तीको तत्काल पहिचान गरी आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाउनुपर्छ । नागरिकले पनि नदी, खोला र पहिरोको जोखिमलाई सामान्य रूपमा नलिई सतर्कता अपनाउनुपर्छ । वर्षा रोकिएला भनेर जोखिमलाई बेवास्ता गर्ने होइन, सम्भावित विपद्लाई सामना गर्न आजै तयार हुने समय हो ।

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार