२०८३ भदौ १६ , मंगलबार
फ्रन्ट पेज

खोला उर्लिने चिन्ता, पहिरो खस्ने डर



सुर्खेत । बर्खायाममा हुने लगातार वर्षाका कारण दैलेखका अधिकांश नदी तथा खोला किनारका बजार बाढी र डुबानको उच्च जोखिममा परेका छन् । लामो समयदेखि वर्षा भइरहेकाले खोला, नदी तथा खहरेमा पानीको बहाव बढ्दै गएपछि जिल्लाका विभिन्न बजार तथा बस्तीमा जोखिम बढेको हो । वर्षा अझै जारी रहेमा नदी तथा खोलाको जलस्तर बढेर बजार क्षेत्रमा पानी पस्ने तथा ग्रामीण सडक, पुल र विद्युत् संरचनामा क्षति पुग्न सक्ने सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ ।

दैलेखका नौमुले गाउँपालिकाको नौमुले बजार, भगवतीमाई गाउँपालिकाको बेस्तडा बजार, दुल्लु नगरपालिका तथा गुराँस गाउँपालिका क्षेत्रमा पर्ने तल्लो डुङ्गेश्वर बजार, डुङ्गेश्वर गाउँपालिकाको चुप्रा र माथिल्लो डुङ्गेश्वर बजार, भैरवी गाउँपालिकाको छामघाट बजार, नारायण नगरपालिकाको लोहोरे बजार, आठबिस नगरपालिकाको राकम कर्णाली बजार, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको पाल्तडा बजार तथा ठाँटीकाँध गाउँपालिकाको रामघाट बजार बाढीको जोखिममा रहेका छन् ।

यीमध्ये अधिकांश बजार नदी, खोला तथा खहरेको आसपासमा विकास भएका छन् । बजार क्षेत्रमा बाक्लो बस्ती हुनुका साथै ठूलो संख्यामा पसल तथा व्यवसाय सञ्चालनमा रहेकाले बाढी तथा डुबानको घटना भएमा मानवीयसँगै ठूलो आर्थिक क्षति हुनसक्ने जोखिम रहेको छ ।

ठाँटीकाँध गाउँपालिकाको रामघाट बजार विगतदेखि नै बाढीको जोखिममा रहेको क्षेत्र हो । कर्णाली नदीको बहाव बढ्दै जाँदा नदीको पानी बस्ती तथा बजारतर्फ पस्न सक्ने स्थानीयको चिन्ता छ । त्यस्तै आसपासका खहरेमा एक्कासि पानीको बहाव बढेमा बजार क्षेत्रमा क्षति पुग्न सक्ने जोखिम पनि उत्तिकै छ । वर्षाको समयमा नदी तथा खोलाको बहाव अनुमान गर्न कठिन हुने भएकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सचेत गराउने र आवश्यक परे सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।

११ वटै स्थानीय तहका बजारमा निगरानी

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी श्रवणकुमार विकले लगातार भइरहेको वर्षाका कारण जिल्लाका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए । उनका अनुसार दैलेखका ११ वटै स्थानीय तहका केन्द्र रहेका बजार तथा कर्णाली राजमार्ग आसपासका बजार क्षेत्र सम्भावित बाढी तथा पहिरोको जोखिममा छन् ।

वर्षाका कारण ग्रामीण सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारमा समेत क्षति पुग्न सक्ने भएकाले स्थानीय तहलाई पूर्वतयारीमा रहन आग्रह गरिएको उनले बताए । विशेषगरी नदी तथा खोलाको किनारमा रहेका बस्तीमा बसोबास गर्ने नागरिकले पानीको बहाव बढेको अवस्थामा सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ ।

प्रशासनले बढायो जोखिम क्षेत्रको निगरानी

जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीका अनुसार सम्भावित बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय तह र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रको निगरानी बढाएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधिलाई सम्भावित विपद्का लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । विपद् आइपरे तत्काल उद्धार तथा राहत परिचालन गर्न सकिने गरी सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय भइरहेको प्रशासनले जनाएको छ ।

सडक र पुलमा पनि उत्तिकै जोखिम

धेरै वर्षाले दैलेखका ग्रामीण सडकमा पहिरो जाने तथा सडक अवरुद्ध हुने सम्भावना पनि बढेको छ । जिल्लाका दुर्गम क्षेत्रमा वर्षायाममा सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवतजावतसँगै खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत समस्या पर्ने गरेको छ । त्यस्तै खोलानालामा पानीको बहाव बढ्दा पुल तथा कल्भर्टमा क्षति पुग्न सक्ने जोखिम छ ।

सदरमुकाममै पहिरोको जोखिम

कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम तथा कालिकोट लगायत जिल्लाका सदरमुकामसमेत पहिरोको जोखिमबाट सुरक्षित छैनन् । भिरालो भू–बनोटमा बाक्लो बस्ती र घरहरू निर्माण गरिएका कारण लगातारको वर्षासँगै पहिरो खस्ने जोखिम बढेको हो । विशेषगरी कमजोर भू–बनोट भएका स्थानमा वर्षाको पानी जमिनभित्र पस्दा घर तथा बस्ती नै जोखिममा पर्न सक्ने अवस्था छ ।

जाजरकोट सदरमुकाम खलंगामा भने जोखिम अझ उच्च छ । २०८० को भूकम्पबाट जमिन चर्किएका तथा कमजोर बनेका क्षेत्रमा वर्षाका कारण पहिरो खस्न थालेपछि सदरमुकामको जोखिम बढेको हो । भूकम्पले कमजोर बनाएको भू–भागमा थप पहिरो खस्ने क्रम बढेमा घर, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने खतरा छ । त्यसैले जाजरकोट खलंगासहित रुकुम पश्चिम, कालिकोट र दैलेखका सदरमुकाममा रहेका जोखिमयुक्त बस्तीको तत्काल पहिचान गरी सम्भावित पहिरोबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र नियमित निगरानी बढाउन आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार