२०८३ भदौ १८ , बिहीबार
फ्रन्ट पेज

जेठमै सक्नुपर्ने झण्डै १ करोडको आकाशे पुल, मध्य भदौसम्म ७० प्रतिशत मात्रै काम

वीरेन्द्रनगरको मंगलगढी चोकमा निर्माण भइरहेको कर्णालीकै पहिलो आकाशे पुलको काम ७० प्रतिशत पूरा भए पनि निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पुनः असोज मसान्तसम्म म्याद थप गरिएको छ । पुल निर्माणको बाँकी काम दसैँअघि सक्ने निर्माण कम्पनीको दाबी छ ।


सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा निर्माण भइरहेको आकाशे पुलको पुनः म्याद थप गरिएको छ । वीरेन्द्रनगरको नगर गौरवको आयोजनाका रूपमा रहेको यो आयोजना निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि नगरपालिकाले निर्माण कम्पनीलाई आगामी असोजसम्म म्याद थप गरेको हो ।

नगरपालिकाका वरिष्ठ इन्जिनियर यज्ञ कार्कीका अनुसार पुल निर्माणको काम गत असारमा सम्पन्न गर्नुपर्ने थियो । तर तोकिएको समयमा काम नसकिएपछि फेरि म्याद थप गरिएको उनले जानकारी दिए ।

भुक्तानीसम्बन्धी समस्याका कारण निर्माण कम्पनीलाई काम गर्न अप्ठ्यारो परेको र त्यसलाई समेत ध्यानमा राखेर थप समय दिइएको कार्कीले बताए । उनले भने, ‘भुक्तानीको कुराले उहाँलाई काम गर्न अलिकति अप्ठ्यारो भयो । त्यसैले असोज मसान्तसम्म म्याद थप गरेका छौँ ।’

नगरपालिकाका सव–इन्जिनियर देवनारायण आचार्यका अनुसार वर्षाका कारण पछिल्लो समय निर्माण कार्यको गति केही सुस्त भएको छ । पानी परेका बेला निर्माणका केही काम प्रभावित हुने भए पनि काम भने निरन्तर भइरहेको उनले बताए ।

‘काम रोकिएको छैन, पानीले गर्दा अलिकति स्लो भएर भएको हो । काम चलिरहेको छ,’ उनले भने । आचार्यका अनुसार पुल निर्माणको करिब ७० प्रतिशत काम पूरा भइसकेको छ । पुलको बीच भागमा गर्नुपर्ने क्रसिङ जडान र रंगरोगनको काम बाँकी रहेको उनले बताए । निर्माण कम्पनीले दसैँअघि नै काम सम्पन्न गर्ने बताएको पनि आचार्यले जानकारी दिए । उनले भने, ‘दसैँ अगाडि भ्याउँछु भन्छन् ठेकेदारले ।’

वर्षाका कारण वल्डिङलगायतका काममा केही कठिनाइ हुने गरेको आचार्यले बताए । पानी परेका बेला वल्डिङ गर्दा विद्युत् प्रवाहका कारण जोखिम हुने भएकाले कामको गति प्रभावित भएको उनको भनाइ छ । यद्यपि निर्माण कार्य रोकिएको भने छैन ।

म्याद थपका लागि निर्माण कम्पनीले नगरपालिकामा अघिल्लो म्याद सकिनासाथ नै निवेदन दिएको पनि आचार्यले बताए । उनका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धि तथा आवश्यक सामग्री समयमै उपलब्ध हुन नसकेकोलगायतका कारण देखाउँदै कम्पनीले म्याद थप मागेको हो ।

‘उहाँहरूले म्याद सकियो, म्याद थपिदिनुप¥यो भनेर पहिल्यै निवेदन दिनुभएको थियो । मूल्यवृद्धिका कारण सामानको सप्लाई हुन नसकेकोलगायत दुई–तीनवटा कारण देखाउनुभएको थियो,’ उनले भने ।

निर्माणको गति प्रभावित हुनुमा वर्षासँगै निर्माण सामग्रीको ढुवानीमा आएको समस्याले पनि भूमिका खेलेको नगरप्रमुख मोहनमाया ढकालको भनाइ छ । आवश्यक सामग्री निर्माणस्थलसम्म ल्याउन समस्या भएपछि कामको तालिकामा असर परेको उनले बताइन् । ‘बीचमा एकचोटि अलि सामानहरू ल्याउन ढुवानी गर्न समस्या भयो भनेर उनीहरूको म्याद थप भएको हो,’ उनले भनिन्, ‘अब तीव्र गतिमा काम सुरु हुन्छ ।’

मंगलगढी चोकमा आकाशे पुल निर्माणको काम २०८२ पुसदेखि सुरु भएको हो । वीरेन्द्रनगर नगरपालिकाले शहरमा बढ्दै गएको सवारी चाप र पैदल यात्रुको आवतजावतलाई ध्यानमा राख्दै पुल निर्माणको योजना अघि बढाएको हो ।

नगरपालिकाका अनुसार आकाशे पुल निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका र अजोज कन्स्ट्रक्सन, काठमाडौंबीच भ्याटबाहेक ९९ लाख ९३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । नगरपालिकाले स्टिमेट गरेको लागत अनुमान भने १ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

सम्झौताअनुसार निर्माण सम्पन्न गर्ने प्रारम्भिक अवधि २०८३ जेठ मसान्तसम्म तोकिएको थियो । निर्धारित अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि म्याद असार मसान्तसम्म पुगेको थियो । असार मसान्तमा समेत काम पूरा नभएपछि अहिले पुनः असोज मसान्तसम्म म्याद थप गरिएको हो ।

आयोजनाको भौतिक प्रगति हाल करिब ७० प्रतिशत पुगेको भए पनि आर्थिक प्रगति त्यसको तुलनामा कम छ । निर्माण कम्पनीलाई हालसम्म करिब ५० प्रतिशत भुक्तानी भएको आचार्यले जानकारी दिए । निर्माण भइरहेको आकाशे पुल कर्णालीकै पहिलो आकाशे पुल हो ।

सडकको सतहबाट करिब ६ मिटर उचाइमा रहने गरी पुल तयार पारिँदैछ । पैदल यात्रुहरूले सडक पार गर्दा सवारी साधनहरूले ठक्कर दिने र दुर्घटना बढ्ने जोखिम बढेकाले नगरपालिकाले यो योजना अगाडी सारेको हो ।
पुलले पैदल यात्रुलाई सडकको एक किनारबाट अर्को किनारमा सहज र सुरक्षित रुपमा पुग्ने सुविधा दिनेछ ।

वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी चोकसँगै अन्य व्यस्त स्थानमा पनि यस्ता संरचना विस्तार गर्ने योजना बनाएको छ । बसपार्क जाने बाटो, यरीचोक र एयरपोर्ट चोकलगायत क्षेत्रमा समेत भविष्यमा आकाशे पुल निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार