२०८३ भदौ १८ , बिहीबार
सम्पादकीय

शिक्षालाई उत्पादनसँग जोड्ने अभ्यास



नेपालमा कृषि प्रधान अर्थतन्त्रको चर्चा धेरै हुन्छ, तर कृषि शिक्षालाई व्यवहार, उत्पादन र बजारसँग जोड्ने अभ्यास भने अझै सीमित छ । यही अवस्थामा दैलेखको भगवतीमाई गाउँपालिकास्थित श्री ज्वाला माध्यमिक विद्यालयले थालेको अभ्यास भने उदाहरणीय देखिन्छ । कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक धार सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीलाई किताब र कक्षाकोठामा मात्र सीमित नराखी खेतबारीमा उतारेर उत्पादनदेखि बजारीकरणसम्मको सीप सिकाउन थालेको छ । विद्यार्थीले धान, मूला, च्याउ, डल्ले खुर्सानीलगायतका कृषि उपज उत्पादन गर्नु आफैंमा सकारात्मक अभ्यास हो । अझ महत्वपूर्ण पक्ष त उत्पादनलाई कच्चा पदार्थका रूपमा मात्र बिक्री नगरी त्यसको प्रशोधन र मूल्य अभिवृद्धिको अभ्यास गराइनु हो । धानबाट चामल, मूलाबाट सिन्की तथा च्याउ र डल्ले खुर्सानीबाट अचार बनाउने अभ्यासले विद्यार्थीलाई कृषि उत्पादनको वास्तविक मूल्य शृंखला बुझाउने अवसर दिएको छ ।

हाम्रो शिक्षा प्रणालीको एउटा ठूलो कमजोरी पढाइ र व्यवहारबीचको दूरी हो। धेरै विद्यार्थीले पाठ्यक्रममा कृषि पढे पनि खेतमा काम गर्ने, उत्पादनको लागत हिसाब गर्ने, उत्पादन प्रशोधन गर्ने, प्याकेजिङ गर्ने र बजार खोज्ने व्यावहारिक ज्ञान पाउँदैनन् । ज्वाला माध्यमिक विद्यालयको अभ्यासले यही खाडल पुर्न खोजेको छ । शिक्षासँग सीप, सीपसँग उत्पादन र उत्पादनसँग बजार जोड्न सकिए कृषि शिक्षा रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने माध्यम बन्न सक्छ । तर विद्यालयको यो प्रयासलाई केवल विद्यालयको सीमाभित्र राखिनु हुँदैन । स्थानीय किसानसँग प्राविधिक सहकार्य, माटो परीक्षण, आधुनिक कृषि प्रविधिको विस्तार र स्थानीय तथा लोपोन्मुख बीउ संरक्षणका लागि प्रस्तावित बीउ बैंकजस्ता कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन सके यसको प्रभाव समुदायसम्म पुग्न सक्छ । विद्यार्थीले विद्यालयमा सिकेको ज्ञान घर र गाउँमा प्रयोग गर्न थाले भने विद्यालय नै कृषि ज्ञान हस्तान्तरणको केन्द्र बन्न सक्छ ।

अर्को महत्वपूर्ण विषय बजार हो । उत्पादन गर्न सिकाएर मात्र पुग्दैन, उत्पादित वस्तुले उचित मूल्य पाउने वातावरण पनि आवश्यक छ । गुणस्तरीय उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्थापनबारे विद्यार्थीलाई सिकाउन सके उनीहरूले भविष्यमा कृषि उद्यम सञ्चालन गर्ने आधार तयार गर्न सक्छन् । कृषि शिक्षालाई सम्मानजनक, व्यावसायिक र उद्यमशील बनाउने दिशामा यस्ता अभ्यासलाई स्थानीय तह र प्रदेश सरकारले समेत प्रोत्साहन गर्नुपर्छ । विद्यालयमा जमिन छ भने त्यसको सदुपयोग, स्थानीय उत्पादन छ भने त्यसको प्रशोधन र विद्यार्थीमा रुचि छ भने त्यसलाई सीपमा रूपान्तरण गर्ने नीति आवश्यक छ । ज्वाला माध्यमिक विद्यालयको अभ्यासले एउटा महत्वपूर्ण सन्देश दिएको छ, कृषि पढ्नु भनेको केवल खेती गर्न सिक्नु होइन, उत्पादन, प्रशोधन, उद्यम र बजार बुझ्नु पनि हो । अब यस्तो अभ्यासलाई एउटा विद्यालयको प्रयासमा सीमित नराखी अन्य विद्यालयमा समेत विस्तार गर्न सके कृषि शिक्षा नै कर्णालीका युवाको सीप, रोजगारी र आत्मनिर्भरताको बलियो आधार बन्न सक्छ ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार