२०८३ भदौ २२ , सोमबार
फ्रन्ट पेज

रसुवा बाढीमा कर्णालीका नागरिक, कतै आफन्त पर्खाइमा, कतै कुशको शव बनाएर अन्त्येष्टि



सुर्खेत । एउटा बुवा जसलाई आफ्नो सन्तानको अवस्थाबारे केही थाहा नहुनु कति पीडादायी होला ? भोटेकोशी बाढी आएको थाहा पाउनासाथ छोराको पीरले विक्षिप्त बनेका जाजरकोटको शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही त्यही पीडा बोकेर छोराको खोजीमा नुवाकोट पुगे । बाढी आएको भोलिपल्टै उनी छोरा महेन्द्रविक्रम शाहीको खोजी गर्दै नुवाकोट पुगेका थिए ।

शिवालय गाउँपालिका–२ जाजरकोटका ३० वर्षीय महेन्द्रविक्रम शाही माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको पावर हाउसमा मेकानिकल इन्जिनियरका रुपमा कार्यरत थिए । भोटेकोशीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भए । परियोजनाको सुरुङभित्र उनी फसेको हुन सक्ने खबर पाएपछि उनका बुवा शेरबहादुर आफैं घटनास्थल पुगेका थिए । तर, नौ दिनसम्म खोज्दा पनि छोराको न त लास भेटियो, न त सासको खबर नै आयो ।

नौ दिनसम्म छोराको खोजीमा भौँतारिएका शेरबहादुर अन्ततः गह्रौँ मन लिएर काठमाडौं फर्किए । शव पहिचानका लागि उनले डीएनए परीक्षणका लागि नमुना दिए र शनीबार जाजरकोट फर्किए । अन्तत आईतबार उनका छोराको जिवीत नभएको खबर आयो र उनि सोमबार  छाेराकाे कुशको शव बनाएर अन्त्येष्टि गर्ने तयारी गरेका छन् ।

शेरबहादुरकाे प्रतीक्षा सकिएपनी भोटेकोशी बाढीले कर्णालीका धेरै परिवारलाई अझै पीडादायी प्रतीक्षामा राखेको छ । कर्णाली प्रदेश प्रहरीको पछिल्लो विवरणअनुसार बाढीपछि कर्णालीका २४८ जना सम्पर्कविहीन रहेकोमा ७८ जना सम्पर्कमा आएका छन् । दुई जनाको मृत्यु पुष्टि भइसकेको छ भने अझै १६८ जना सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन् । सल्यानका ५१, सुर्खेतका १५, मुगुका ११, रुकुम पश्चिमका सात, हुम्लाका छ, कालीकोटका छ, दैलेखका पाँच, जाजरकोटका दुई र डोल्पाका दुई जना अझै सम्पर्कमा आएका छैनन् ।

कालीकोटका २२ वर्षीय लक्ष्मण परियार व्यापारका लागि भोटेकोशी क्षेत्रमा पुगेका थिए । पलाता गाउँपालिका–२ का परियार भदौ १० गते बिहान परिवारसँग सम्पर्कमा आएपछि सम्पर्कविहीन भएका हुन् । त्यस्तै खाँडाचक्र नगरपालिका–५ की सरिता मल्ल, टिमुरे स्वास्थ्य चौकीमा कार्यरत एएनएम, उनका तीन–चार महिनाका छोरा काव्यांश शाही र नन्द दुर्गा शाही पनि बाढीपछि बेपत्ता छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का ३० वर्षीय जनक बुढा र उनकी श्रीमती अनिता रावत पनि बाढीपछि सम्पर्कविहीन छन् । कामको सिलसिलामा टिमुरे पुगेका उनीहरुसँग बाढीपछि सम्पर्क हुन सकेको छैन । फोनसमेत बन्द भएपछि परिवार थप चिन्तामा छन् ।

डोल्पाको मुड्केचुला गाउँपालिका–१ का २८ वर्षीय लबि शाही पनि भोटेकोशी बाढीपछि बेपत्ता छन् । उनी त्रिशूली हाइड्रोपावर–३ डीमा काम गर्थे । कामका लागि रसुवा गएको तीन महिना मात्रै भएको थियो । लबिका दुई सन्तान छन् । बुवाको बाटो हेर्दै रहेका उनका साना छोराछोरी अहिले तस्बिर हेरेर बाबु फर्किने आशामा छन् । ‘मेरो भाइलाई बाढीले लग्यो कि कतै उद्धारको आशमा तड्पिएर बसेको छ, केही थाह नै छैन,’ उनकी दिदी रीता शाही भन्छिन्, ‘हाम्रा लागि यो समय निकै कठिन समय हो ।’

कतै कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता भएका आफन्तको शवसमेत नभेटिएपछि कतिपय परिवारले फर्किने आश मारेर बाध्य हुँदै सांकेतिक रुपमा कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् । जुम्लाकी ललितादेवी कुमाई र उनकी करिब एक वर्षीया छोरी बरालिता सेजुवालको शव नभेटिएपछि श्रीमान् वर्दन सेजुवालले काठमाडौंमा कुशको शव बनाएर अन्त्येष्टि गरेका थिए ।

सल्यानको बागचौर नगरपालिका–८ की ३८ वर्षीया प्रमिला बुढाथोकी बस्नेत पनि भोटेकोशी बाढीमा बेपत्ता भएपछि परिवारले १० दिनसम्म खोजी ग¥यो । शव नभेटिएपछि उनका दुई छोराले कुशको शवमा दागबत्ती दिए । उनका श्रीमान् गोविन्द बस्नेतको यसअघि नै कोरोना संक्रमणका कारण मृत्यु भइसकेको थियो ।

शव नभेटिएपनि आफन्तहरुले मृत्यु स्वीकार्न नसकेको अवस्था छ । कतैबाट ‘भेटियो’ भन्ने खबर आउला कि भन्ने आशा अझै धेरै परिवारमा बाँकी छ । यही आशा र पीडाबीच बेपत्ताका आफन्तहरु कहिले खोजीस्थलतिर हेर्छन्, कहिले फोन बज्ला कि भनेर मोबाइलतिर । बाढी आएको १० र ११ दिनमा पनि केही व्यक्तिको जिवितै उद्धार भएको देखेपछि केही आफन्तको मनमा फर्किने आश फेरि पलाएको छ ।

बाढीमा बेपत्ता भएकाहरुको पहिचानका लागि डीएनए परीक्षणको प्रक्रिया पनि अघि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना आयोजनामा कार्यरत बेपत्ता कर्मचारीको पहिचानका लागि नजिकका रक्तसम्बन्धी आफन्तबाट डीएनए नमुना संकलन थालेको छ । रसुवामा भेटिएका तर पहिचान खुल्न नसकेका शव तथा शरीरका अंगको पहिचानका लागि पनि प्रहरीले नजिकका आफन्तबाट डीएनए नमुना मागेको छ ।

भोटेकोशी बाढीले रसुवामा ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ । आईतबार मध्यान्हसम्म एक हजार ३ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । १३ हजार १ सय ४ को उद्धार भएको छ भने अँझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार सरकारी तथा सार्वजनिक २८ भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र करिब १ हजार ५०० निजी घरमा क्षति पुगेको छ । ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार