किशोरावस्था जीवनको अत्यन्त संवेदनशील चरण हो । यही उमेरमा बालबालिकाको शरीरसँगै भावना, सोच र व्यवहारमा तीव्र परिवर्तन आउँछ । उनीहरूलाई माया, साथ र भरोसा चाहिन्छ । तर यही समयमा उनीहरूको व्यवहारमा देखिने परिवर्तनलाई सामान्य ठानेर बेवास्ता गरियो भने त्यसको परिणाम गम्भीर हुन सक्छ । कर्णाली प्रदेश प्रहरीको तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा १८ वर्षमुनिका २ सय ८७ बालबालिका तथा किशोरकिशोरीले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा मात्रै ९० जनाले आत्महत्या गरेको तथ्यांक छ । यो तथ्यांक आफैंमा अत्यन्त गम्भीर छ । अझ महत्वपूर्ण कुरा के हो भने आत्महत्या गर्ने अवस्थासम्म पुग्नुअघि ती बालबालिकाले कुनै न कुनै संकेत दिएका हुन सक्छन् । तर ती संकेत बुझिएनन् वा बुझेर पनि समयमै हस्तक्षेप हुन सकेन भने अन्ततः एउटा जीवन गुम्न सक्छ ।

अध्ययनहरुले पनि किशोरकिशोरीमा मानसिक तथा सामाजिक दबाब रहेको देखाएका छन् । ग्रामीण कर्णालीमा गरिएको अध्ययनमा किशोरकिशोरीमा शैक्षिक तनाव देखिएको छ । वीरेन्द्रनगरमा गरिएको अर्को अध्ययनले सामाजिक भय, एक्लोपन र कमजोर सामाजिक सम्बन्धको अवस्थालाई देखाएको छ । यस्ता समस्या सबैले आत्महत्या गर्छन् भन्ने होइन । तर यस्ता अवस्थाले उनीहरूको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने भएकाले समयमै पहिचान र सहयोग आवश्यक हुन्छ ।
यसको जिम्मेवारी परिवारको मात्र होइन । विद्यालय पनि बालबालिकाले धेरै समय बिताउने ठाउँ भएकाले शिक्षकले उनीहरूको व्यवहारमा आएको असामान्य परिवर्तन बुझ्न सक्नुपर्छ । स्थानीय तहले मानसिक स्वास्थ्यलाई स्वास्थ्यका अन्य विषयजस्तै प्राथमिकतामा राख्नुपर्छ । प्रदेश सरकारले नीति र कार्यक्रम बनाएको छ । ७९ स्थानीय तहमध्ये ४३ स्थानीय तहमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन भएको र विद्यालय तथा स्थानीय तहका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट छुट्याइएको उल्लेख छ । तर समस्या र जोखिमको आकार हेर्दा कार्यक्रमको पहुँच, निरन्तरता र प्रभावकारितामाथि पनि प्रश्न गर्नुपर्ने अवस्था छ ।
किशोरकिशोरीलाई मानसिक समस्या भयो भने उनीहरूलाई कमजोर ठान्ने, गाली गर्ने वा अनुशासनको नाममा दबाब दिने प्रवृत्ति बदलिनुपर्छ । उनीहरूले आफ्नो कुरा भन्न सक्ने वातावरण परिवारबाटै सुरु हुनुपर्छ । ‘के भयो ?’ भनेर सोध्नु मात्र पर्याप्त हुँदैन, उनीहरुको कुरा धैर्यपूर्वक सुन्ने संस्कार पनि विकास गर्नुपर्छ । आत्महत्याको घटना भएपछि मात्र मानसिक स्वास्थ्यको कुरा गर्नु पर्याप्त छैन । संकट आउनुअघि नै संकेत पहिचान गर्ने, संवाद गर्ने र आवश्यक परे विशेषज्ञको सहयोग लिने व्यवस्था बलियो बनाउनुपर्छ । विद्यालयमा नियमित मनोसामाजिक परामर्श, स्वास्थ्य संस्थामा सहज मानसिक स्वास्थ्य सेवा र समुदायमा सचेतना आवश्यक छ ।
आत्महत्याका घटनालाई समाचार बनाउँदा पनि संवेदनशीलता अपनाउनुपर्छ, किनकि यस्ता घटनाको सनसनीपूर्ण प्रस्तुतीकरणले अनुकरणको जोखिम बढाउन सक्ने चिकित्सकहरुले औंल्याएका छन् । किशोरकिशोरी भविष्यका नागरिक मात्र होइनन्, उनीहरू आजकै परिवार र समाजका सदस्य हुन् । उनीहरूको मन बुझ्नु कुनै अतिरिक्त जिम्मेवारी होइन, अभिभावक, विद्यालय, समाज र राज्य सबैको साझा दायित्व हो । एउटा किशोर÷किशोरीको मौनता समयमै सुन्न सकियो भने एउटा सम्भावित दुर्घटना रोक्न सकिन्छ । त्यसैले घटना भएपछि पछुताउने होइन, घटना हुनुअघि नै किशोर मन बुझ्ने वातावरण निर्माण गर्न अब ढिला गर्नु हुँदैन ।







