२०८३ असोज १५ , बिहीबार
सम्पादकीय

अटोको बेथिति रोक्न नियमित निगरानी आवश्यक



वीरेन्द्रनगरमा छोटो दूरीको सार्वजनिक यातायातका रुपमा अटोको प्रयोग बढ्दै गएको छ । घरको नजिकसम्म पुग्न सकिने र सहज रूपमा उपलब्ध हुने भएकाले अटो धेरैका लागि दैनिक यात्राको महत्वपूर्ण साधन बनेको छ । तर यात्रुको बढ्दो निर्भरतासँगै अटो सञ्चालनमा देखिएका बेथितिका गुनासा पनि बढिरहेका छन् । यही अवस्थालाई ध्यानमा राखेर ट्राफिक प्रहरीले थालेको विशेष निगरानी अभियानले सार्वजनिक यातायातको व्यवस्थापनमा नयाँ बहस सिर्जना गरेको छ । सादा पोसाकमा प्रहरीलाई यात्रु बनाएर अटोमा पठाउँदा पहिलो दिनमै १४ वटा अटो तोकिएकोभन्दा बढी भाडा मागेको पाइयो । यात्रु बनेर सेवा परीक्षण गर्ने यो शैलीले नियमित चेकजाँचबाट मात्र सार्वजनिक यातायातको वास्तविक अवस्था पत्ता लगाउन कठिन हुने देखाउँछ । प्रहरीको उपस्थितिमा नियम पालना गर्ने तर निगरानी नहुँदा मनपरी गर्ने प्रवृत्ति भए त्यसलाई नियमित अनुगमनबाट नियन्त्रण गर्न आवश्यक छ ।

अटो चालकले आफूखुसी भाडा तोक्ने, छोटो दूरीका यात्रुलाई गन्तव्यसम्म लैजान आनाकानी गर्ने, आफूलाई अनुकूल हुने यात्रु मात्र लिने, तीव्र गतिमा चलाउने र यात्रुसँग असहज व्यवहार गर्ने गुनासा सामान्य विषय होइनन् । सार्वजनिक यातायातको सेवा यात्रुको आवश्यकता र सुरक्षामा केन्द्रित हुनुपर्छ । एउटै दूरीका लागि फरक–फरक भाडा तिर्नुपर्ने अवस्था रहिरहने हो भने यात्रु अन्योलमा पर्नुका साथै आर्थिक रुपमा समेत मारमा पर्छन् ।

तर यसको अर्थ सबै अटो चालकलाई एउटै दृष्टिले हेर्नु पनि हुँदैन । अधिकांश चालकले आफ्नो रोजगारी र परिवारको जीविकाका लागि अटो सञ्चालन गरिरहेका हुन्छन् । त्यसैले नियमन कारबाहीमुखी मात्र नभई सुधारमुखी हुनुपर्छ । तोकिएको भाडा, रुट, यात्रु व्यवहार र ट्राफिक नियमबारे चालकलाई स्पष्ट जानकारी दिने तथा नियम उल्लंघन गर्नेलाई प्रमाणका आधारमा कारबाही गर्ने व्यवस्था आवश्यक छ । ट्राफिक प्रहरीले सुरक्षित सडक अभियानअन्तर्गत गति परीक्षण, मापसे जाँच, दुर्घटनास्थल पहिचान, ट्राफिक संकेत राख्ने र चालकको स्वास्थ्य परीक्षणजस्ता काम पनि गर्दै आएको जनाएको छ । कर्णालीमा दुर्घटना बढी हुने ६५ स्थान पहिचान गरिएको तथ्यले सडक सुरक्षाको चुनौती अझ गम्भीर रहेको देखाउँछ ।

अबको आवश्यकता एक साताको अभियानमा सीमित हुनु होइन । अटोको भाडादेखि गति र यात्रुसँगको व्यवहारसम्म नियमित अनुगमन गर्ने स्थायी संयन्त्र आवश्यक छ । नगरपालिकाले पनि ट्राफिक प्रहरीसँग समन्वय गरी भाडादरमा एकरुपता कायम गर्नुपर्छ । यात्रुले पनि बढी भाडा असुली वा अन्य दुव्र्यवहार भएमा सम्बन्धित निकायमा जानकारी गराउनुपर्छ । सार्वजनिक यातायात व्यवस्थित हुनु भनेको यात्रुको सुविधा मात्र होइन, सहरको सभ्य र सुरक्षित यातायात प्रणाली निर्माण हुनु पनि हो । त्यसैले अटोमाथिको निगरानीलाई अभियानमा मात्र सीमित नराखी नियमित व्यवस्थापन गर्न आवश्यक छ ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार