२०८३ वैशाख १६ , बुधबार
कांग्रेस कर्णालीको चुनावी सभा

गगन थापाले भने, अबको पाँच वर्षमा देशलाई स्वर्णिम बनाउछौँ,मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ



समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय सभामा कांग्रेस सभापति गगनकुमार थापाले आगामी पाँच वर्षलाई “स्वर्णिम” बनाउने दाबी गर्दै प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे।
  • उनले विगतका राजनीतिक अस्थिरताले देश पछि परेको उल्लेख गर्दै संविधान र कानुन सुधार, कर्णालीको गरिबी, बजेट खर्च र विकासका संरचनागत समस्यामा काम गर्ने प्रतिबद्धता जनाए।
  • भ्रष्टाचार र विगतका काण्डको निष्पक्ष छानबिन गर्ने, निहत्थामाथि हिंसा नहुने र देशलाई दुर्घटनामा जान नदिने भन्दै उनले मतदातालाई पाँच वर्ष परीक्षण नगरी काम गर्ने अवसर दिन अपिल गरे।

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने दाबी गरेका छन् । सुर्खेतमा भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे ।

उनले भने, ‘विगत पाँच छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब ०८२ देखि ०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ । यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ । हामीलाई नेपालको सीमितता थाहा छ । हामी यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर कुरेर बस्दैनौँ । बैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौैँ भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौँ ।

उनले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने बताए । उनले भने, ‘आओस् एमाले, आओस् नेपाली कम्युनिष्ट पार्टी र आओस् रास्वपा एउटै मञ्चमा बसेर योजना बनाउँ भन्दा कोही नआउने । हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरु आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरुलाई कर्णालीबासीले नपत्याओस् ।
विदेशमा भएकाहरुलाई सम्बोधन गर्दैै थापाले भने, ‘सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरुको छानबिन गर्दै गर्दां मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन ।

उनले यो पाँच वर्षलाई परीक्षण नगर्न पनि आग्रह गरेका छन् । उनले मतदातालाई आग्रह गर्दै भने, ‘यो पाँच वर्षलाई परीक्षण नगरौँ । हामी काम गरेर देखाउने हो । कर्णालीका बारेमा सबै राम्रा भन्न सकिन्छ तर प्रश्नसँगसँगै देशभर १७ प्रतिशत हुँदै गर्दा करिब ४० प्रतिशत गरिबी बोकेर कर्णाली किन बसिरहेको छ रु देशभपरिका बालबालिका बचाउँदा कर्णालीका किन बनाउन सकिएन रु समस्याको जरासम्म पुग्नुपर्छ । सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए । उनले सम्बोधनका क्रममा भने, ‘सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानु हुँदैन । कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।

सभापति थापाले भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए । उनले कर्णाली र काठमाडौँ महानगरपालिकाको कुनै तुलनासमेत हुन नसक्ने बताए । उनले भने, ‘कर्णालीको आय वार्षिक ५२ करोड छ । काठमाठौँमा त १० अर्ब छ । सुतीसुती मेयरले १० अर्ब खर्च गर्न पाउँछ । प्रदेश सरकारले सबैभन्दा बढी कर यातायात, सडकबाट पाउँछ । यहाँ त यातायात र सडक नै कम छ ।

सभापति थापाले अगाडि भने, ‘कर्णालीको विकासको पहिलो मुद्धा संविधान पनि बदल, कानून पनि बदल । काठमाडौँबाट कर लिन पाउने हक कर्णालीले लिनुपर्छ । म संविधान र कानून बदलाब गरौँ भनेर भन्छु । तर बनाउन कति दुःख छ । कर्णालीमा पैसा कम छ मात्र हैन खर्च पनि गर्न सकिएको छैन । पहाडी र हिमाली जिल्लामा असार साउनभित्र खर्च गर्ने व्यवस्था राखेपछि कर्णालीको खर्च बजेट फ्रिज हुन्छ । अर्को वर्षको कार्तिक मंसिरसम्म नभएसम्म खर्च गर्न सकिन्न ।

उनले सूचनाको अवसरमा पनि कर्णाली पछि पर्ने बताए । उनले तीतो सत्य अगाडि सार्दै भने, ‘त्यो सूचनाको उद्योगमा काम गर्न विज्ञान, अग्रेजी र गणित राम्रो हुनुपर्छ । त्यसका लागि आमाको स्वास्थ्य राम्रो हुनुपर्छ । आमाको काखमा हुँदासम्म ५ वर्षमै विज्ञान, अंग्रेजी र गणितको अवस्था बच्चाले बुझेको हुन्छ । काठमाडौँलेमात्र लाभ लिने हुन्छ । त्यसैले प्रतिस्पर्धाका लागि कर्णालीकी आमा र पोषणमा काम गर्नुपर्छ ।

सभापति थापाले कर्णालीको खर्च बाँदरले दिएको दुःखमा भएको उल्लेख गर्दै उनले भने, ‘विकास बहुआयामिक छ । यहाँ हल्ला छ । को कसरी हात हल्लाउँदै छ यसको चर्चा छ । उनले कांग्रेसको प्रतिज्ञापत्रले अझै सबै ठाउँमा चर्चा बटुल्न नसकेको बताउँदै यथास्थितिवादी र अतिवादीले मुलुक नबनाउने दाबी गरे ।

सभापति थापाले भने, ‘मैले दुई चार ओटा गालीको कुरा गरेँ भने त्यसले बेलुका भाइरल भइहाल्छ । आएको हैन माओवादी ? खै के भयो ? नयाँ नयाँ भनेर आउँदै गर्दा देखेको होइन हामीले ? फेरि पनि भुलभुलैयामा पर्ने ? नेपाली कांग्रेस यही देशको पार्टी हो । हिजोका कमीकमजोरी मिल्काउँदै फाल्दै सच्चिने ठाउँमा सच्चिएर हामी कांग्रेस बदलेर आएका छौँ । देश पनि बदल्छौँ । पाँच वर्षमा देशलाई दुर्घटनामा जान दिन्नौँ । यथास्थितिवादीले देशलाई अगाडि बढ्न दिँदैन । अर्को शक्ति आक्रोश छ आगो छध । हामी पेटको आगो पनि भर्नुपर्नेछ ।
सुर्खेत घण्टाघरमा बोल्दै सभापति थापाले उपस्थित समुदायतिर हेर्दै भने, ‘यो उत्साह यो चौरीमा भएर हुँदैन । सबै साथीहरु गाउँ जानुस् । आफ्नो घरमा होइन मतदाताको घरमा पुग्नुस् । कांग्रेसको सन्देश दिलएर पुग्नुस् । पाँच वर्षलाई खेर जान दिन हुन्न भन्नुस् ।

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार