२०८३ वैशाख १८ , शुक्रबार

समानुपातिक मतगणना सकियो ः ६ दललाई राष्ट्रिय मान्यता, रास्वपा सबैभन्दा ठूलो



काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना पनि सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार खसेको मतमध्ये १ करोड ७ लाख ६९ हजार ५ सय ४३ मत सदर हुँदा ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै समानुपातिक सिट हासिल गरेका छन्। सदर मतको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ५४ हजार ९ सय ४८ मत अर्थात् ४७.८ प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। त्यस्तै नेपाली कांग्रेस ले १७ लाख ५५ हजार ४७९ मत (१६.२ प्रतिशत), नेकपा एमाले ले १४ लाख ५२ हजार ६ सय ३७ मत (१३.४ प्रतिशत) प्राप्त गरेका छन्। यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले ८ लाख ९ हजार ५३० मत (७.५ प्रतिशत), श्रम संस्कृति पार्टी ले ३ लाख ८५ हजार ७०८ मत (३.५ प्रतिशत) र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख ३० हजार २२७ मत (३ प्रतिशत) प्राप्त गरेका छन्।

थ्रेसहोल्ड पार गरेका यी ६ दलको मतका आधारमा ११० समानुपातिक सिट बाँडफाँट गर्दा रास्वपाले ५७ सिट पाउने देखिएको छ। कांग्रेसले २० सिट, एमालेले १६ सिट, नेपाल कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राप्रपाले ४ सिट पाउने अनुमान गरिएको छ।

पुराना दलको मत घट्यो

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएको एमालेले यसपटक करिब ४९ प्रतिशत मत गुमाएको छ। अघिल्लो निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत ल्याएर ३४ सिट जितेको एमाले यसपटक १६ सिटमा सीमित हुने देखिएको छ। कांग्रेसले पनि अघिल्लो निर्वाचनमा २७ लाख १५ हजार २२५ मत प्राप्त गरी ३२ सिट जितेकोमा यसपटक मत झन्डै ३५ प्रतिशतले घटेको छ र सिट संख्या २० मा झरेको छ। नेपाल कम्युनिस्ट पार्टी र राप्रपाको मत तथा सिट संख्या पनि अघिल्लो निर्वाचनको तुलनामा घटेको देखिएको छ।

रास्वपाको ठूलो छलाङ

रास्वपाले अघिल्लो निर्वाचनमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गर्दै १३ समानुपातिक सिट जितेको थियो। तर यसपटक उसले ४० लाखभन्दा बढी मत थप्दै ५७ सिट पु¥याएको छ। यस निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ पनि उल्लेखनीय सफलता हासिल गरेको छ। अघिल्लो निर्वाचनमा ७ सिट जितेको रास्वपाले यसपटक १२५ सिट जितेको छ। त्यस्तै कांग्रेस अघिल्लो निर्वाचनमा ५७ सिट जितेकोमा यसपटक १८ सिटमा सीमित भएको छ भने एमाले ४४ सिटबाट घटेर ९ सिटमा पुगेको छ। नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ।

संसदको अन्तिम अवस्था

समानुपातिक र प्रत्यक्ष दुवै परिणाम जोड्दा २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले १८२ सिट जितेको छ, जुन दुईतिहाइ बहुमत (१८४) भन्दा दुई सिट कम हो। कांग्रेसले ३८ सिट, एमालेले २५ सिट, नेपाल कम्युनिस्ट पार्टीले १७ सिट, राप्रपाले ५ सिट तथा श्रम संस्कृति पार्टीले ७ सिट जितेका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन पनि प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार