जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पछिल्लो समय स्वास्थ्य सेवा मात्र नभई चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । अहिले प्रतिष्ठानमा देशका विभिन्न क्षेत्रका साथै विदेशबाट समेत विद्यार्थी अध्ययनका लागि आउन थालेका छन् । देशका सुविधासम्पन्न सहर छाडेर पनि विद्यार्थी जुम्लामा चिकित्सा शिक्षा अध्ययन गर्न आउने क्रम बढ्दै गएको छ । हाल नेपालका मात्र नभई छिमेकी राष्ट्र भारतबाट पनि विद्यार्थी जुम्ला पुगेर डाक्टरी अध्ययन गरिरहेका छन् ।

प्रतिष्ठानको शैक्षिक सत्र २०८२ का लागि भारतका पाँच जनासहित देशभरका गरी १ सय ३० जना विद्यार्थी विभिन्न विषय अध्ययनका लागि जुम्ला आएका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीका अनुसार एमबिबिएसमा ५० जना, नर्सिङमा २० जना, बिएनएसमा २० जना, बिपिएचमा २० जना, बिएससी नर्सिङमा २० जना र बी फार्मामा २० जना विद्यार्थी भर्ना भएका छन् ।
सीमित स्रोतसाधन र चुनौतीका बाबजुद पनि जुम्ला चिकित्सा शिक्षा अध्ययनका लागि आकर्षक गन्तव्य बन्नु गौरवको विषय भएको उनले बताए । गत वर्ष प्रतिष्ठानका विभिन्न सङ्कायमा १ सय ४ जना नयाँ विद्यार्थी भर्ना भएका थिए । यस वर्ष थप २६ जना विद्यार्थी भर्ना भएसँगै कुल संख्या १ सय ३० पुगेको छ । प्रतिष्ठानका उपकुलपति डा. पूजन रोकायाले अध्ययनका लागि जुम्ला रोजेका विद्यार्थीलाई स्वागत गर्दै उनीहरूलाई दक्ष र सक्षम जनशक्ति बनाउने लक्ष्यका साथ अध्यापन गराइने बताए ।
काठमाडौँ जस्ता सुविधासम्पन्न सहरका विश्वविद्यालय छाडेर कर्णालीलाई विश्वास गरेकोमा प्रतिष्ठान थप जिम्मेवार र गौरवान्वित बनेको उनले बताए । दाङबाट एमबिबिएस अध्ययन गर्न जुम्ला आएका विद्यार्थी अमय आचार्यले सुनेकोभन्दा देखेको जुम्ला धेरै फरक लागेको बताए ।
जुम्लालाई अत्यन्त दुर्गम भन्ने धारणा गलत रहेको उल्लेख गर्दै उनले यहाँको प्राकृतिक सौन्दर्य, भाषा, संस्कृति र जडीबुटीको सम्भावनाले आफू प्रभावित भएको बताए । भारतको दिल्लीबाट आफ्नी छोरी रेन्जु सिंहलाई एमबिबिएस अध्ययनका लागि जुम्ला ल्याएका उनका बुवा राघवेन्द्र सिंहले जुम्ला शान्त र सुन्दर क्षेत्र भएको बताए । उनले भारतका सुविधासम्पन्न विश्वविद्यालय छाडेर जुम्ला रोज्नुमा यहाँको शान्त वातावरण र गुणस्तरीय शिक्षाले भूमिका खेलेको बताए ।








