२०८३ वैशाख १९ , शनिबार

शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीका हातमा पुग्यो पाठ्यपुस्तक



हुम्ला । हिमाली जिल्ला हुम्लाका अधिकांश सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएकै दिन विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गरेका छन् । समयमै पाठ्यपुस्तक ढुवानी भएर गाउँपालिकासम्म पुगेपछि विद्यालय खुल्नेबित्तिकै विद्यार्थीलाई वितरण गरिएको हो ।

हिउँदे बिदा तथा भर्ना अभियानपछि विद्यालय सञ्चालन हुँदा अधिकांश कक्षाका विद्यार्थीले पाठ्यपुस्तक पाएको बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिए उनका अनुसार कक्षा ९ र १० का केही विद्यार्थीलाई भने पुस्तक पुग्न बाँकी छ ।

ती पुस्तक सुर्खेतबाट अर्डर गरिएको र केही दिनभित्र विद्यालयमा पुग्ने अपेक्षा गरिएको छ । सिमकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले केही अपुगबाहेक अधिकांश विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएर पठनपाठन सुरु भइसकेको बताए । सिमकोट गाउँपालिकामा २१ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यस्तै ताँजाकोट गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जयरुद्र ढकालका अनुसार यस शैक्षिक सत्रका लागि आवश्यक सबै पाठ्यपुस्तक गाउँपालिकामा पुगेका छन् ।

उनले १६ वटै विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण सम्पन्न भइसकेको र पठनपाठन सुरु भएको जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाकी प्रमुख सविता उपाध्यायका अनुसार जिल्लाका सातवटै गाउँपालिकाका १४१ विद्यालयका लागि पाठ्यपुस्तक उपलब्ध गराइएको छ ।

शैक्षिक सत्र सुरु भएकै दिन विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नु जिल्लामा पहिलो पटक भएको हुन सक्ने उनले बतााए । यद्यपि नाम्खा गाउँपालिकाको चाला र लिमीस्थित सुनखानी प्राथमिक विद्यालयमा भने अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । हुम्ला जिल्लामा प्राथमिक, आधारभूत र माध्यमिक तहमा गरी करिब १७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार