हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका–२ कुलाला गाउँका विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । जेबी फाउन्डेसन को सहयोगमा सो समुदायका २३ घरधुरीका करिब ६० जनालाई पुग्ने गरी न्यानो कपडा उपलब्ध गराइएको हो ।

फाउन्डेसनका अध्यक्ष लोकेन्द्र भण्डारी को पहलमा उक्त सामग्री वितरण गरिएको वडा सदस्य अमनी कटुवाल ले जानकारी दिए । उनका अनुसार विपन्न दलित परिवारलाई एक–एक थान डसना, बाक्लो सिरक, तकिया र सिरानी वितरण गरिएको छ ।
न्यानो कपडा पाएपछि स्थानीय दलित समुदायका बासिन्दा खुसी भएका छन् । फाउन्डेसनका अध्यक्ष भण्डारी स्वयं दलित बस्ती पुगेर सामग्री वितरण गर्दा विपन्न परिवारलाई ठूलो राहत पुगेको स्थानीय ज्येष्ठ नागरिक भक्त कुलाल ले बताए । अन्य धेरै स्थानमा गर्मी सुरु भइसके पनि हुम्लामा अझै जाडो कायमै रहेकाले यस्ता सामग्री खरिद गर्न नसक्ने परिवारका लागि यो सहयोग उपयोगी भएको उनको भनाइ छ ।








