सुर्खेत । सुर्खेतमा पनि बायु प्रदुषण हानिकारक तहमा पुगेको छ । केही दिनदेखि आकाश नखुल्ने, बादल लाग्ने गरेको सुर्खेतमा बायुु प्रदुषण हानिकारक तहमा पुगेको हो । वीरेन्द्रनगर वरपर क्षेत्रको हावामा बायुु प्रदुषण मानव स्वास्थ्यलाई समेत असर गर्ने तहमा पुगेको छ । बायु प्रदुषण मापन अनुसार ० देखि ५० सम्म तहलाई स्वथ्यकर, ५१ देखि १०० सम्म मध्यम १०१ देखि १५० सम्म संवेदनशील अर्थात मानिसका लागि अस्वस्थ मानिन्छ ।

त्यस्तै २०१ देखि ३०० को तहलाई धेरै अस्वस्थ र ३०१ भन्दा माथि खतरना मानिन्छ । भने १५१ देखि २०० अस्वस्थ मानिन्छ । तर पछिल्लो केही दिनदेखि वीरेन्द्रनगरको हावामा बायु प्रदुषणको मात्र १८७ सम्म पुगेको छ । नेपालमा वायु प्रदुषणको कारण मानव स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको छ । यसले गर्दा धुलो धुँवाका कण हावामा मिसिन गई वातावरणीय प्रणालीलाई नै नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन् ।
वायुमण्डलमा रसायनहरूको मात्रा, धुलोको कणहरु, जुन ठोस, तरल या ग्याँसको रूपमा सामान्यस्तरभन्दा बढी मात्रामा भयो भने वायु प्रदुषित हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांकअनुसार विश्वभर ७० लाखभन्दा बढी मानिसको मृत्युको कारण वायु प्रदुषणले भएको दावी छ । वायु प्रदुषणले मानिसलाइ क्रमिक रूपमा रोगी बनाएर मृत्यु गराउने हुनाले ‘साइलेन्ट किलर’ पनि भनिन्छ । नेपालमा दुई तरिकाले वायु प्रदुषण भइरहेको छ ।
जसमा घरभित्रै उत्सर्जन हुने प्रदुषण र बाहिरी वातावरणमा उत्सर्जन हुने प्रदुषण हुन् । ग्रामीण भेगमा घरको भान्छामा खाना पकाउँदा दाउरा, गुइठा बाल्दा निस्कने धुवाँका कारणले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । नेपालमा वर्षेनी सुख्खा खडेरीका कारण वनमा लाग्ने डढेलोको घटनाले वायु
प्रदुषण हुन ठूलो असर पार्छ । जंगलमा लागेको डढेलोका कारणले गर्दा मौसम फेरबदल पार्नुका साथै वायुमण्डल नै प्रदूषित भइरहेको छ । प्रदुषणका अन्य स्रोतहरू यातायात क्षेत्र, फोहोर जलाउने, पशुपालन मिथेन उत्सर्जन, इँटा भट्टा, सिमेन्ट कारखानाबाट निस्कने फोहोर पनि मुख्य हुन् । यी कारणले नै अहिले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।
स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार स्वच्छ र स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह गरेको छ । यस सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय र अन्तरराष्ट्रिय कानुनहरुले प्रत्याभूत गरेका प्रावधानहरुको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिएको हो ।
आयोगले प्रत्येक नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारको सुनिश्चित गर्ने, गराउने कार्यमा थप जिम्मेवार हुन तीनै तहका सरकार, निजी प्रतिष्ठान तथा सम्बन्धित सबैमा आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले आफ्नो स्वास्थमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति सचेत रहनसमेत अनुरोध गरे ।
पछिल्ला वर्षमा नेपाल वायु प्रदूषित देशहरुको विश्वव्यापी सूचीको अग्रस्थानमा परिरहेको अवस्थामा यस वर्ष पनि विगत केही दिनदेखि प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा असर पर्न पुगेको अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । आयोगले राष्ट्रिय तथा विश्वस्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा निकै उच्च रहेको तथ्याङ्क सार्वजनिक भएको भने आयोगको प्रारम्भिक अनुगमनका क्रममा नेपालमा स्थापित वायु गुणस्तर मापन गर्ने ३० वटा संयन्त्रमध्ये ११ वटा संयन्त्रले मात्रै अनलाइन ‘रिअल टाइम’ वायु गुणस्तर अध्यावधिक तथ्याङ्क दिइरहेको जनाएको छ ।
वायु प्रदूषणका कारण फोक्सोको रोग, मुटुको रोग, मस्तिष्काघात, श्वासप्रश्वास प्रणालीमा सङ्क्रमणजस्ता स्वास्थ्य समस्या हुने गरेको देखिएको छ । नेपालमा प्रतिवर्ष २६ हजार व्यक्तिको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।
आयोगले गरेको अनुगमनमा काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ समेत प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिएको छैन । वायु गुणस्तरसम्बन्धी कार्यक्रम दातामुखी हुनु, अध्यावधिक तथ्याङ्कको अभाव, अन्तरतह सरकार तथा अन्तरनिकाय समन्वय प्रभावकारी हुन नसक्नुजस्ता कारण वातावरण संरक्षणको कार्यमा प्रभावकारिता आउन नसकेको आयोगले जनाएको छ ।
जनस्वास्थ्यमा खतरा बढ्दै
वायु प्रदुषणको कारक तत्व जस्तै पार्टिकुलेट म्याटर कार्वनमोनोअक्साईड, ओजन, नाइट्रोजन डाइअक्साइड आदि हुन् । मसिना धुलोको कणहरु पार्टिकुलेट म्याटरहरु साइज दायराका विषेशगरी २.५ र १० स्वास्थ्यका लागि हानिकारक प्रदुषकहरू मानिन्छ । त्यस्ता सूक्ष्म कणहरुको एक्सपोजरले श्वासप्रश्वास नलीमा पुगेर फोक्सोमा प्रतिकूल असर गर्छ ।
वायु प्रदूषणको उच्चस्तरको एक्सपोजरले विभिन्न प्रकारका प्रतिकूल स्वास्थ्य परिणामहरू निम्त्याउन सक्छ । यसले श्वासप्रश्वासको संक्रमण, दम, मुटु रोग र फोक्सोको क्यान्सरको जोखिम बढाउँछ । वायु प्रदूषकहरूसँग छोटो र दीर्घकालीन दुवै जोखिम स्वास्थ्य प्रभावहरूसँग सम्बन्धित छ । बालबालिकामा तीव्र श्वासप्रश्वासको संक्रमण र वयस्कहरूमा क्रोनिक ब्रोन्काइटिस, र थप गम्भीर प्रभावहरूले पहिले नै बिरामी भएका मानिसहरू बढी प्रभावित हुने गरेका छन् ।
यसले स्वास्थ्यका विभिन्न प्रणाली र शरीरका अंगहरूको संख्यालाई असर गर्छ र छोटो र दीर्घकालीन जोखिमहरूले अकाल मृत्युदर हुने गर्दछ । नेपालमा २०.५ प्रतिशत मानिसहरु वायु प्रदुषणसंग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । काठमाडौंमा अहिले वायु गुणास्तरको मापन २०० भन्दा बढी छ । काठमाडौंमा मात्र प्रदुषणको मापदण्ड विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा करिब पाँच गुणाले बढी रहेको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका प्रोफेसर रेजिना मास्के का अनुसार अहिले देशको अधिकांश भाग अस्वस्थ्यकर अवस्था १०० भन्दा माथि रहेको छ । काठमाडौं उपत्यकाको सबै भाग अस्वस्थ अवस्थामा छ । नेपालको वायु प्रदुषणमा मुख्य स्रोतको रूपमा रहेके डढेलोले लगभग ६० प्रतिशत योगदान गरेको छ । काठमाडौं उपत्यकामा दैनिक २० टन फोहोर जलाएर ५५ टन पार्टिक्युलेट म्याटर (पीएम) निस्कन्छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ८ गुणा बढी रहेको छ ।
यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालका अनुसार वायु प्रदुषणले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । स्वास्थ्य प्रभावहरूमा कार्डियोभास्कुलर प्रभावहरूः श्वासप्रश्वास दमको आक्रमण र ब्रोन्काइटिस र गर्भवती महिलाहरु वायु प्रदुषणमा बढी संवेदनशील हुन्छन् जस्तैः समयपूर्व जन्म, कम तौलको बच्चा जन्मिने जोखिम बढ्छ । नेपाल ग्लोवल बर्डेन अफ रोग २०१९ का अनुसार वायु प्रदुषणसंग सम्बन्धीत रोगका कारण वार्षिक रुपमा ४० प्रतिशतभन्दा मानिसहरुको मुत्यु भएको तथ्यांकले बताएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले नेपालमा वायु प्रदुषणले गर्दा विभिन्न श्वास प्रश्वास रोगमध्ये (३९.४%) सीओपीडी रहेको देखाएको छ । यस्तै (२९.१%) निमोनिया र (२५.३%) तीव्र श्वासप्रसासन रोग प्रमुख थिए । काठमाडौं उपत्यकाका अस्पतालमा श्वासप्रश्वाससम्बन्धी रोगको बिरामीहरुमध्ये (४.८%) दम, (४.८%) ब्रोन्काइटिसका रोगका बिरामीहरु छन् ।








