२०८३ वैशाख १९ , शनिबार

इनिसा विक प्रकरण, दोषीलाई कडा कारबाही गर्न सांसद सापकोटाको माग



सुर्खेत । सुर्खेतकी किशोरी इनिसा विकको हत्या प्रकरणले देशभर चासो र आक्रोश बढिरहेका बेला सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का सांसद रमेश कुमार सापकोटाले घटनाका दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले निर्दोष किशोरीमाथि भएको अमानवीय घटनाले समाजलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन् । सांसद सापकोटाले पीडित परिवारलाई न्याय दिलाउन राज्यका सबै निकाय जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

उनका अनुसार यस्तो जघन्य अपराधमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कडा सजाय हुनुपर्छ । “निर्दोष किशोरीमाथि भएको यस्तो अमानवीय घटनाले समाजलाई नै लज्जित बनाएको छ,” उनले भने, “दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउनुपर्छ ।

सांसद सापकोटाले अनुसन्धान प्रक्रियामा कुनै कमजोरी नहोस् भन्ने विषयमा राज्यका सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने पनि बताएका छन् । उनले घटनाको सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन आफूले सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हाल उक्त घटनाबारे नेपाल प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ । घटनापछि स्थानीय बासिन्दा, नागरिक समाज तथा मानव अधिकारकर्मीहरूले पनि निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार