२०८३ वैशाख ४ , शुक्रबार

मनकामनाबाट फर्किँदै गरेका भारतीय पर्यटक सवार गाडी कसरी दुर्घटना भयाे ?



काठमाण्डौँ ।  गोरखाको सहिद लखन गाउँपालिका–३, कन्टारमा शनिबार साँझ माइक्रो बस दुर्घटना भएको छ। मनकामना देवीको दर्शन गरी फर्किएका १४ जना भारतीय पर्यटक सवार बागमती प्रदेश–००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २०० मिटर तल खोंचमा खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्।

प्रत्यक्षदर्शी र उद्धारमा खटिएका स्थानीयका अनुसार दुर्घटना साँझ करिब ७ बजेको आसपासमा भएको थियो। दुर्घटनाको खबर पाउनेबित्तिकै सबैभन्दा पहिला स्थानीय बासिन्दा घटनास्थलमा पुगेका थिए। स्थानीय विश्राम कट्टेलले दुर्घटना भएको केही समयमै आफूहरु घटनास्थल पुगेको बताए । उनका अनुसार चालकले गाडीबाट हाम फालेर ज्यान जोगाएपनि अन्य यात्रुहरू भने भीर र गाडीको भग्नावशेषमा च्यापिएका थिए।

उद्धारमा खटिएका अर्का स्थानीय युवाका अनुसार घाइतेहरूको अवस्था निकै नाजुक थियो। केही घाइते यात्रुहरू तामिल र अंग्रेजी भाषा मात्र बोल्न सक्ने भएकाले उनीहरूसँग सञ्चार गर्न समेत कठिनाइ भएको थियो। उद्धार टोलीले घाइतेहरूलाई डोरी र स्ट्रेचरको सहायताले भीरबाट माथि निकालेर उपचारका लागि तनहुँको आबुखैरेनी अस्पताल पठाएको छ। मृतक सातै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका स्थानीयले समयमै सुरक्षाकर्मी नआएको गुनासो समेत गरेका छन्। शवहरू ढाक्नका लागि आवश्यक कपडा र पर्याप्त स्ट्रेचर समेत नहुँदा स्थानीयले आफ्नै तन्ना र लुगा प्रयोग गरेर शव व्यवस्थापन गर्नुपरेको थियो। सशस्त्र प्रहरी र सेनाको टोलीले पछि आएर गाडीमा च्यापिएका शवहरू निकालेका थिए ।

प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार