हुम्ला । हिमाली जिल्ला हुम्लामा १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप चैत १५ गतेभित्र लगाइने भएको छ । राष्ट्रिय खोप अभियानका क्रममा छुटेका किशोरीहरूलाई समेट्ने उद्देश्यले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

यसका लागि जिल्ला स्तरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी जिल्लाका सबै सात वटै गाउँपालिकामा खोप अभियान सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार कक्षा ६ मा अध्ययनरत तथा सोही उमेर समूहका ६८६ जना किशोरीहरूलाई खोप प्रदान गरिनेछ ।
विद्यालय बाहिर रहेका किशोरीहरूलाई पनि कार्यक्रममा समावेश गरिने व्यवस्था गरिएको छ । गाउँपालिकागत रूपमा खोप लगाइने किशोरीहरूको संख्या खार्पुनाथमा ९५, चङ्खेलीमा ७२, सर्केगार्डमा १२७, नाम्खामा २७, ताँजाकोटमा ९५, सिमकोटमा १६५ र अदानचुलीमा १०५ रहेको छ ।
नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारीको लिमी क्षेत्रमा भने उक्त उमेर समूहका किशोरीहरू नभएको जानकारी दिइएको छ । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुमा आयोजित अभिमुखीकरण कार्यक्रममा सातवटै गाउँपालिकाका स्वास्थ्य संयोजकहरू तथा शिक्षा, युवा र खेलकुद शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।








