२०८३ वैशाख १९ , शनिबार

नियमित हवाई उडानका लागि ६ बुँदे संकल्प प्रस्ताव पारित



सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने उद्देश्यसहित ६ बुँदे संकल्प प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतिले पारित गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकाल अन्तर्गत सातौँ अधिवेशनको छैटौँ बैठकले उक्त संकल्प प्रस्ताव पारित गरेको हो ।

नेपाली कांग्रेसका प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले प्रस्ताव सभामा प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य टेकराज पछाइ र उर्मिला विश्वकर्माले ढिलो भए पनि सकारात्मक पहल भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रस्तावमा उठेका विषयहरूको जवाफ दिएका थिए । उनको जवाफपछि संकल्प प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो । बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेश सरकारले सबै जिल्लामा समान रूपमा अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

उनले सरकारका कार्यशैलीकै कारण प्रदेश संरचनामाथि प्रश्न उठ्न थालेको टिप्पणी गरे । यसैगरी, बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयसँग सम्बन्धित जिज्ञासाहरूको जवाफ दिँदै सेवा प्रदायक र सेवाग्राहीबीचको सम्बन्धलाई सहज र मैत्रीपूर्ण बनाउन प्रयास भइरहेको बताए ।

त्यसै बैठकमा कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
उक्त विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य रनसिंह परियार, टेकराज पछाइ र जीतबहादुर मल्लले भाग लिएका थिए। मन्त्री भण्डारीले छलफलका क्रममा उठेका विषयमा जवाफ दिएका थिए ।

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार