२०८३ वैशाख १९ , शनिबार

सात केन्द्र निर्धारण, १३ सय विद्यार्थी सहभागी हुदै



हुम्ला । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हुम्ला जिल्लाबाट करिब १ हजार ३०० विद्यार्थी सहभागी हुने भएका छन् । नियमित, पूरक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

एकाइ प्रमुख सविता उपाध्यायका अनुसार नियमिततर्फ ५१८ छात्र र ४७९ छात्रा गरी कुल ९९७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यस्तै पूरक तथा ग्रेडवृद्धितर्फ १२४ छात्र र १७९ छात्रा गरी ३०३ विद्यार्थी सहभागी हुनेछन्। यी सबै विद्यार्थी साधारण तथा प्राविधिक धारामा परीक्षा दिनेछन् ।

आगामी चैत १९ गतेबाट सुरु हुने एसइई परीक्षाका लागि जिल्लामा सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । नियमअनुसार प्रत्येक परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइनेछ ।

निर्धारित परीक्षा केन्द्रहरूमा मानसरोवर नमूना माध्यमिक विद्यालय सिमकोट, हिमज्योति माध्यमिक विद्यालय सर्केगार्ड, सूर्योदय माध्यमिक विद्यालय श्रीनगर, अदानचुली मदानदेव माध्यमिक विद्यालय, ताँजाकोट सीता माध्यमिक विद्यालय, खार्पुनाथ माध्यमिक विद्यालय र महाबौद्ध माध्यमिक विद्यालय नाम्खा रहेका छन् । जिल्लाभर शान्तिपूर्ण र व्यवस्थित रूपमा परीक्षा सञ्चालन गर्ने तयारी पूरा भएको सम्बन्धित निकायले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार