मुगु । दुई वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुगुमा यस वर्ष बेमौसमी चैतमा भारी हिउँ परेको छ । गत शुक्रबार बिहानदेखि लगातार हिउँ परिरहेको छ । अक्सर मङ्सिरको अन्त्यतिर पर्नुपर्ने हिउँ चैतमा परेको हो । मुगुवासीले केही वर्षयता भारी मात्राको हिमपात देख्न पाएका थिएनन् ।

जसका कारण यहाँको कृषि, पर्यटन र जैविक विविधतामा नकारात्मक असर पु¥याएको थियो । यहाँ यस वर्ष रारा तालमा हिमपात भएपछि पर्यटक हिउँमा रमाएका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार रारा र मुर्माटपमा शनिबारसम्म हिमपात भइरहेको छ । रारामा होटेल सञ्चालक शान्ति बुढा रोकायाका अनुसार रारा र मुर्माटपमा बिहानैदेखि हिमपात भएपछि आन्तरिक र विदेशी पर्यटक हिउँ खेल्नका लागि बिहानैदेखि आएका छन् ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी ऋषिकेश यादवका अनुसार यहाँ अहिलेसम्म हिमपातका कारण स्थानीय र पर्यटकको दैनिक जनजीवन प्रभावित भएपनि हिउँका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति भएको छैन । उनले भने रारामा यो आर्थिक वर्षको फागुन मसान्तसम्म ११ हजार १० जना स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
छायानाथ रारा नगरपालिका–८ का स्थानीय विर्षबहादुर रोकायाका अनुसार हिमाली क्षेत्रमा अनुकूल समय हिमपात हुनु स्वाभाविक भएपनि यस वर्ष चैतमा हिउँ पर्दा आश्चर्य लागेको छ । हिउँले कृषि, पर्यटन र पशुपालन क्षेत्रलाई फाइदा पुग्ने भए पनि बाक्लो हिमपातका कारण स्याउलगायतका बोटबिरुवालाई आंशिक क्षति पु¥याएको उनको भनाइ छ ।
चैतमा परेको हिउँले उच्च लेकको चरनक्षेत्रमा पशुपालनका लागि निकै राम्रो हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख भीमचद्र बुढाले जानकारी दिए । यस वर्षको हिमपातले यहाँ स्याउलगायत अन्नबालीलाई राम्रो फाइदा पुग्ने कृषि विकास कार्यालय मुगुका प्रमुख केशव अधिकारीले बताए ।








