सल्यान । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले कपुरकोट गाउँपालिकाले बृहत पोषण कार्यक्रम अन्तर्गत पोषण कोसेली वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर १ र २ भित्रका सुनौलो हजार दिनका ६८ जना आमाहरूलाई पोषणयुक्त सामग्रीसहितको झोला वितरण गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख सुवास हमालका अनुसार उक्त झोलामा चना, केराउ, सिमी जस्ता गेडागुडी, सर्वोत्तम पिठो, साबुन, नङकाट्ने उपकरण लगायत सरसफाइका सामग्री समावेश गरिएको छ । यस कार्यक्रमले सुत्केरी आमा र शिशुको पोषण अवस्थामा सुधार ल्याउनुका साथै स्वस्थ खाने बानीको विकास गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमका क्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले आमा र शिशु स्वस्थ भए मात्रै परिवार, समाज र देशको समग्र विकास सम्भव हुने बताए । उनले यही सोचलाई आत्मसात गर्दै पोषणयुक्त आहार र सरसफाइ सामग्रीसहितको कोसेली वितरण गरिएको स्पष्ट पारे ।
उपाध्यक्ष प्रकाश भण्डारीले सुनौलो हजार दिनको अवधिमा पोषण र सरसफाइबारे जनचेतना बढाउने, संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्ने तथा बालबालिकाको समुचित वृद्धि विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
गाउँपालिकाले मातृ तथा बाल पोषण सुधारमार्फत होचोपन, पुड्कोपन र कुपोषण न्यूनीकरण गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । प्रारम्भिक बाल्यकालमा पोषणमा गरिएको लगानीले दीर्घकालीन रूपमा व्यक्ति, परिवार र समुदायलाई सकारात्मक प्रभाव पार्ने विश्वासका साथ ‘बृहत पोषण कोसेली’ कार्यक्रम अघि बढाइएको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार








