२०८३ वैशाख १९ , शनिबार

सडक दुर्घटना कम गर्न, साँघुरा घुम्ती चौडा गरिदै



चौरजहारी । खसडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको मुख्य सडकमा रहेका साँघुरा घुम्ती (मोड) चौडा बनाएको छ । सल्लीबजार–जाजरकोट सडकखण्ड अन्तर्गत बोहरागाउँदेखि छेडागाडसम्मका घुम्तीहरु फराकिलो बनाएपछि सवारी साधन आवतजावत सहज हुने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । डिभिजन कार्यालयका प्रमुख खुमबहादुर भण्डारीका अनुसार सडक सुरक्षा सुधार गर्ने उद्धेश्यले खलङगा–छेडागाड सडक खण्डका जोखिमपूर्ण मोडहरुलाई विस्तार गरिएको हो ।

साँघुरो र तीखा मोडका कारण सवारी साधन चलाउन कठिन हुने र दुर्घटनाको सम्भावना बढ्ने समस्या हटाउन यो कार्य अघि बढाइएको छ । स्थानीय चालक अर्जुन चौधरीले घुम्ती चौडा बनाएपछि सवारी साधन मोड्दा सहज भएको र दुर्घटना जोखिम कम भएको बताए ।

भेरी नगरपालिका–११ का तेज शर्माले पनि अब मोड नपुग्ने, रोकिएर मोड्नुपर्ने र विपरित दिशाबाट आएको सवारीसँग ठोक्किने जोखिम घटेको उल्लेख गर्नुभयो । डिभिजन कार्यालयका नायब सुब्बा धनवीर केसीका अनुसार बोहरागाउँदेखि छेडागाडसम्मका ५४ वटा मोड चौडा बनाउने अभियान जारी छ र हालसम्म ३० भन्दा बढी मोड विस्तार गरिसकिएको छ ।

सब ईन्जिनियर विवश नाथ योगीको टोली फिल्डमै रही कार्य निरन्तरता दिँदै आएको छ । सडक विभागले यान्त्रिक महाशाखाबाट उपकरणहरू ल्याएर विभागकै जनशक्तिको उपयोग गरी मोड फराकिलो बनाउने कार्य गरेको छ ।
पहिले पाँच–सात मिटरको दुरीमा रहेका मोडहरू हाल १०–१२ मिटरसम्म चौडा बनाइएका छन् । कार्यालयले आगामी दिनमा पनि जोखिमयुक्त सडक खण्डको पहिचान गरी सुधारको काम निरन्तर गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार