सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली समृद्धि महोत्सव २०८२ आयोजना हुने भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा यही चैत ११ गतेदेखि २२ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ स्थित रेडियो नेपाल परिसरमा सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । साथै, लोकदोहोरी, गीत–संगीत, नृत्यलगायत विविध सांस्कृतिक कार्यक्रममार्फत कर्णालीको कला र संस्कृतिको प्रवद्र्धन गरिने लक्ष्य राखिएको छ ।
महोत्सवमा विभिन्न व्यापारिक स्टलहरू पनि रहनेछन्, जहाँ स्थानीय उत्पादन, हस्तकला तथा उद्यमशील सामग्रीहरूको प्रदर्शन तथा बिक्री गरिनेछ । यसले स्थानीय व्यवसाय प्रवद्र्धन र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेष आकर्षणका रूपमा गोठीगाडाबाट प्याराग्लाइडिङको व्यवस्था गरिने आयोजकले जनाएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
आयोजकका अनुसार महोत्सवले कर्णालीको पर्यटन, कला, संस्कृति र आर्थिक विकासलाई टेवा पु¥याउने लक्ष्य राखेको छ । साथै, स्थानीय कलाकार र उद्यमीलाई आफ्नो प्रतिभा र उत्पादन प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि महोत्सवलाई हेरिएको छ ।








