जुम्ला । जुम्लामा सार्वजनिक यातायातमा मनपरी भाडा लिने समस्या रोक्न नयाँ भाडादर निर्धारण गरिएको छ । स्थानीयको माग र सरकारको नियमअनुसार जिल्ला यातायात दररेट समितिले जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा बस, जिप, भ्यान र अटोका लागि दूरीअनुसार नयाँ भाडा तय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा बसेको बैठकले इन्धन मूल्य, सडकको अवस्था र सवारी सञ्चालन लागतलाई आधार मानेर भाडा निर्धारण गरेको प्रशासनले जनाएको छ । नयाँ भाडा अनुसार, जुम्ला बजारदेखि उमगाड ५० रुपैयाँ, तातोपानीः १ सय ४० रुपैयाँ, राँका १ सय ८५ रुपैयाँ, कुँडारीः २ सय ३० रुपैयाँ, रारालिहीः २ सय ७५ रुपैयाँ, नाग्म ३ सय ८५ रुपैयाँ कायम रहेको छ ।
अ
ब यातायात व्यवसायीले यात्रु बोक्ने सबै सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था गर्नुपर्नेछ । सिट सुरक्षित नभएका कारण समस्या भोगिरहेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षण सिट र छुटको व्यवस्था पनि लागू गरिएको छ ।
प्रशासनले सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारीमा कारबाही गरिने चेतावनी दिएको छ । यसअघि हिमा, सिँजा, तिला र कनकासुन्दरी क्षेत्रका स्थानीयहरूले मनपरी भाडा लिइएको भन्दै प्रशासनमा निवेदन दिएका थिए ।
सिँजा–हिमा गाउँपालिका–१ का हर्षबहादुर शाहीका अनुसार भाडा पूर्ण सहुलियतयुक्त नहुँदा पनि यसरी निर्धारण हुनु सकारात्मक रहेको छ । साथै, इन्धन मूल्यमा फेरबदल भए भाडा पुनः समायोजन गरिने व्यवस्था राखिएको छ ।








