२०८२ चैत १९ , बिहीबार

कर्णाली प्रदेशसभाबाट दुई विधेयक पारित



सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्यसम्बन्धी पत्र प्राप्त भएपछि सभामुख नन्दा गुरुङले बैठकमा उक्त जानकारी पढेर सुनाएकी थिइन् ।

सामान्यतया हिउँदे अधिवेशनलाई ‘विधेयक अधिवेशन’का रूपमा लिने गरिन्छ । तर यसपटकको अधिवेशनमा प्रदेशसभाले अपेक्षाकृत कम काम गरेको देखिएको छ । जम्मा दुई वटा मात्र विधेयक पारित भएका छन् ।

पारित हुने विधेयकहरूमा कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक र प्रदेश ऐन संशोधन सम्बन्धी विधेयक रहेका छन् । प्रदेशसभाका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार अन्य प्रस्तावित विधेयकमध्ये कर्णाली प्रदेश खेलकुद विधेयक भने समितिमा पठाइएको छ ।

उक्त विधेयकलाई दफावार छलफलपछि थप अध्ययन र परिमार्जनका लागि सामाजिक विकास समितिमा पठाइएको हो । यस अधिवेशनमा कुल १० वटा बैठक मात्र बसेका थिए। हिउँदे अधिवेशन गत माघ १८ गतेबाट सुरु भएको थियो । सीमित बैठक र न्यून विधेयक पारित भएको अवस्थाले प्रदेशसभाको प्रभावकारिताबारे प्रश्न उठ्न थालेका छन् ।

प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार