कालीकोट । कालिकोट जिल्लाको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उद्देश्यले सुरु गरिएको पक्की पुल निर्माण कार्य निर्धारित समय सकिएको एक वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । दुई गाउँपालिकाको आवागमन सहज बनाउने लक्ष्यसहित सुरु गरिएको उक्त पुल निर्माण कार्यमा अत्यन्तै ढिलाइ भएपछि स्थानीयवासी समस्यामा परेका छन् ।

पलाँता गाउँपालिका पूर्ण रूपमा र पचालझरना गाउँपालिकाका वडा नं. १ देखि ५ सम्मका बासिन्दाले प्रत्यक्ष असर भोगिरहेका छन् । कर्णाली प्रदेश सरकारको बजेटमा भौतिक पूर्वाधार विकास कार्यालय, कालीकोट मार्फत ठेक्का दिइएको भए पनि निर्माण कम्पनीले हालसम्म सामान्य खाल्डो खन्नेबाहेक कुनै उल्लेखनीय प्रगति गर्न सकेको छैन ।
२०७७ असोज १३ गते निर्माण कम्पनीसँग सम्झौता भई २०८१ चैत २५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समय सकिँदा पनि काम पूरा नहुँदा स्थानीयमा असन्तोष बढ्दै गएको छ । स्थानीयवासी प्रकाश कठायतले निर्माण व्यवसायीको लापरबाहीका कारण नागरिकको आवागमन अधिकार प्रभावित भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन् ।
उनले केही समय अझै प्रतीक्षा गर्ने तर समस्या समाधान नभए कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् । यसैबीच, पचालझरनाको जारकोटदेखि पडेखासम्मको सडक निर्माण आयोजना पनि अलपत्र परेको छ । २०७७ फागुन ३ गते सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का भए पनि हालसम्म काम सुरु हुन सकेको छैन ।
भौतिक पूर्वाधार विकास कार्यालय, कालीकोटका प्रमुख प्रभाकर सिंहका अनुसार निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम प्रभावित भएको हो । उनले निर्माण अवधि २०८४ असार मसान्तसम्म थपिएको जानकारी दिएका छन् । स्थानीयले प्रदेश सरकार र सम्बन्धित जनप्रतिनिधिलाई समस्या समाधानमा गम्भीर हुन आग्रह गरेका छन् ।








