हुम्ला । हिमाली जिल्ला हुम्लाका तीन वटा एसइई परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएको छ । एक सयभन्दा कम परीक्षार्थी रहेका ती केन्द्रमा परीक्षण कार्य छिट्टै सम्पन्न गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका निमित्त प्रमुख खड्कबहादुर हमालका अनुसार शनिबारसम्म खार्पुनाथ गाउँपालिकाको सीता मावि, सर्केगार्ड गाउँपालिकाको कोट मावि (रोडिकोट) र अदानचुली गाउँपालिकाको सूर्योदय मावि, श्रीनगर केन्द्रमा उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ ।

उक्त केन्द्रमध्ये सीता र कोट माविमा १ सय ६ जना परीक्षार्थी सहभागी थिए भने सूर्योदय माविमा १सय ७६ जना परीक्षार्थी रहेका थिए । ती केन्द्रमा अनिवार्य नेपाली र अङ्ग्रेजी विषयका उत्तरपुस्तिका परीक्षण सकिएको छ । यता चार वटा परीक्षा केन्द्रमा भने परीक्षण कार्य जारी रहेको छ ।
सर्केगार्ड गाउँपालिकाको हिमज्योति मावि (सर्केगार्ड), सिमकोट गाउँपालिकाको मानसरोवर मावि र बालमन्दिर मावि, तथा ताँजाकोट गाउँपालिकाको मदानादेव मावि केन्द्रमा परीक्षण भइरहेको छ ।
दुई सयभन्दा बढी परीक्षार्थी रहेका कारण ती केन्द्रमा परीक्षण कार्य केही ढिलो भइरहेको हमालले जानकारी दिए ।
परीक्षा केन्द्रमै विषयविज्ञ शिक्षकबाट उत्तरपुस्तिका परीक्षण गराउने व्यवस्था गरिएको छ । बालमन्दिर मावि केन्द्रका केन्द्राध्यक्ष कैलाश रोकायाले एक जनाबाट मात्र परीक्षण भइरहेको कारण समय लागेको बताए ।
यस वर्ष हुम्लामा एक हजार तीन सय परीक्षार्थीले एसइई परीक्षामा सहभागिता जनाएका छन् । उत्तरपुस्तिका परीक्षणका लागि गोप्य कोठा तथा सुरक्षा व्यवस्था कडा बनाइएको छ । परीक्षकलाई मोबाइल बोक्न निषेध गरिएको छ भने गाउँपालिकाको सहयोगमा परीक्षण स्थल बाहिर सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ ।








