२०८३ वैशाख ३ , बिहीबार

हाई अल्टिच्युड तालिम केन्द्र निर्माण हुने



जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा हाई अल्टिच्युड तालिम केन्द्र निर्माण गर्ने प्रक्रिया अब अघि बढ्ने भएको छ । लामो समयदेखि जग्गा अभावका कारण रोकिएको यो परियोजना अन्ततः आवश्यक जग्गा उपलब्ध भएपछि कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।

पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार करिब नौ वर्षपछि तालिम केन्द्रका लागि जग्गा सुनिश्चित भएको हो । यसअघि कागजी प्रक्रियामै सीमित रहेको परियोजनाले स्थानीय बासिन्दाको सक्रिय सहयोगपछि गति पाएको छ । पातारासी–३ लोठचौरका स्थानीय लाउरो बोहोरा, गोरबहादुर बोहोरा र कुम्भ बोहोराले कुल ६ हजार एक सय २० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन् । जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार उक्त जग्गाको स्वामित्व सम्बन्धी कागजात राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई हस्तान्तरण भइसकेको छ ।

जग्गा व्यवस्थापनका लागि उपाध्यक्ष रोकायाको नेतृत्वमा समिति गठन गरिएको थियो, जसले जग्गा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको हो । यो तालिम केन्द्र स्थापना गर्ने प्रस्ताव जिल्ला खेलकुद विकास समिति, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायले संयुक्त रूपमा अघि बढाएका थिए ।

२०७४ साल पुस महिनामा खेलकुद मन्त्रालयले यस परियोजनाको सम्भाव्यता अध्ययनसमेत सम्पन्न गरेको थियो । उपाध्यक्ष रोकायाका अनुसार विगतमा जग्गा सुनिश्चित नहुँदा प्रत्येक वर्ष बजेट विनियोजन भए पनि खर्च हुन नसकी फिर्ता जाने अवस्था थियो ।

गत आर्थिक वर्षमा मात्रै करिब पाँच करोड ६६ लाख रुपैयाँ बजेट खर्च हुन नसकी फ्रिज भएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार तालिम केन्द्र निर्माणका लागि कुल अनुमानित लागत एक अर्ब ५८ करोड रुपैयाँ रहेको छ । हालसम्म दुई करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ भने चालु आर्थिक वर्षका लागि छ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो पूर्वाधार निर्माण सम्पन्न भएपछि जुम्ला र पातारासी क्षेत्रको पहिचान नयाँ स्तरमा पुग्ने अपेक्षा गरिएको छ ।

हालसम्म उच्च स्थानमा मार्सीधान उत्पादन हुने क्षेत्र छुमचौर र हिमशृङ्खलाका लागि परिचित पातारासी भविष्यमा अन्तर्राष्ट्रिय खेल प्रशिक्षण केन्द्रको रूपमा विकास हुने विश्वास गरिएको छ । यसले खेल पर्यटन प्रवद्र्धनमा पनि ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार