२०८३ वैशाख १९ , शनिबार

कर्णालीमा नुनको अभाव कायमै



हुम्ला । हुम्लाका दक्षिणी क्षेत्रका ताँजाकोट र अदानचुली गाउँपालिकामा नुनको अभाव देखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत ढुवानी अनुदानमा उपलब्ध गराइने नुन समयमै नपुगेपछि स्थानीय बासिन्दा समस्यामा परेका हुन् । ताँजाकोट गाउँपालिका–३ का स्थानीय झुल शाहीका अनुसार अघिल्लो वर्ष वितरण गरिएको नुन सकिइसकेको छ भने चालु वर्षका लागि छुट्याइएको नुन अझै ढुवानी हुन सकेको छैन ।

उनले ढुवानीमा भएको ढिलाइका कारण गाउँमा नुनको अभाव भएको बताए । साल्ट ट्रेडिङबाट नुन उपलब्ध नभएपछि स्थानीय उपभोक्ताले बजारबाट महँगो मूल्यमा नुन किन्न बाध्य भएका छन् । अहिले बजारमा प्रतिकेजी करिब ४० रुपैयाँ तिरेर नुन खरिद गर्नुपरेको गुनासो स्थानीयले गरेका छन् । गत वर्ष भने प्रत्येक घरधुरीलाई ५० केजीका दरले नुन वितरण गरिएको थियो ।

अदानचुली गाउँपालिकामा पनि यस्तै अवस्था देखिएको छ । गाउँपालिका–२ का जङ्ग रोकायाका अनुसार वर्षमा एक पटक पाइने अनुदानको नुन यस वर्ष हालसम्म नआउँदा दैनिक जीवनमा समस्या परेको छ साल्ट ट्रेडिङ कर्पोरेसन हुम्लाका प्रमुख राजबहादुर लामाले ताँजाकोट गाउँपालिकाका लागि ४ सय ७९ क्विन्टल नुनको कोटा निर्धारण गरिएको जानकारी दिए । तर हालसम्म ३ सय ४० क्विन्टल मात्र गाउँपालिका केन्द्रसम्म ढुवानी भएको उनले बताए । बाँकी नुन छिट्टै ढुवानी गर्ने तयारी भइरहेको सम्बन्धित निकायले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार