२०८३ वैशाख १७ , बिहीबार

सम्झौता भएको चार वर्षपछि पुल निर्माण अन्तिम चरणमा



हुम्ला । सम्झौता भएको चार वर्षपछि कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित दोजाममा कर्णाली नदीमाथि निर्माण भइरहेको स्टिल ट्रस्ट मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ ।
हिल्सा–सिमकोट सडक योजनाको निरन्तर दबाबपछि आगामी जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राख्दै कामलाई तीव्र बनाइएको छ ।

हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार २०७८ साल असोज १४ गते नुवाकोटको स्वच्छन्द माउण्ट पुमरी जेभीसँग सम्झौता भए पनि विभिन्न कारणले काममा ढिलाइ भएको थियो ।

विशेषगरी पूर्वतर्फ तातोपानी निस्किएपछि करिब एक वर्षसम्म निर्माण कार्य अवरुद्ध भएको थियो । यस वर्षदेखि भने निर्माणले गति लिएको छ । पुलका दुवै छेउका संरचना तयार भइसकेका छन् भने आवश्यक स्टिल सामग्री स्थलमा पु¥याएर जडान कार्य धमाधम भइरहेको छ ।

नदी कटानबाट पुल जोगाउन दुवैतर्फ ग्याविन समेत राखिएको छ । निर्माण कम्पनीले बिहानदेखि बेलुकासम्म निरन्तर काम गरिरहेको जनाएको छ । ५५ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको यस पुलका लागि २०८० साल असोज ६ गते म्याद थप गरिएको थियो ।

कुल ११ करोड ८३ लाख ९४ हजार ५०८ रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा हालसम्म २० प्रतिशत वित्तीय र ५० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । बाँकी स्टिल जडान कार्य आगामी दुई महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । यसअघि निर्माण ढिलाइ हुँदा स्थानीयले वैकल्पिक रूपमा बेलिब्रिजको माग गरेका थिए । सोही अनुसार हाल निर्माणाधीन पुलभन्दा केही माथि अस्थायी बेलिब्रिज समेत निर्माण गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार