२०८२ चैत ३० , सोमबार

वर्षौ बित्दा बनेन पुल, नयाँ ठेक्काको तयारी



रुकुमपश्चिम । सम्बन्धीत निकायको बेवास्ता र निर्माण ढिलाइका कारण मध्यपहाडी राजमार्ग अन्तर्गत भेरी नदीमा बन्ने पुल १३ वर्षदेखि अलपत्र परेको छ । रुकुमपश्चिम र जाजरकोट जोड्ने यो महत्त्वपूर्ण पुल समयमै सम्पन्न भएको भए २०७२ सालमै सञ्चालनमा आउने थियो ।

२०६९ सालमा तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित वाइपी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको भए पनि हालसम्म पुल निर्माण सम्पन्न हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी राजमार्गको रुकुमपश्चिम–जाजरकोट खण्ड यसकै कारण जोडिन सकेको छैन ।

चौरजहारी नगरपालिका–२ अँधेरेदेखि जाजरकोटको भेरी नगरपालिका–१३ कुदुसम्म जोड्ने गरी निर्माण सुरु गरिएको पुलको दुवैतर्फ आधार पिल्लर मात्रै खडा गरिएका छन् । मुख्य संरचना अझै निर्माण हुन सकेको छैन । मध्यपहाडी राजमार्ग योजना कार्यालय, दैलेखका प्रमुख निरञ्जन थापाका अनुसार पुल निर्माणका लागि नयाँ ठेक्काको प्रक्रिया अगाडि बढाइएको छ ।

साबिक डिजाइनमा आवश्यक परिमार्जन गरी स्वीकृतिका लागि सडक विभागमा पठाइएको र सम्भवत यसै वर्ष टेन्डर आह्वान गरिने तयारी रहेको उनले जानकारी दिए । नदीको धार परिवर्तन भई फैलिएको अवस्थालाई ध्यानमा राख्दै तटबन्धसहितको नयाँ डिजाइन तयार गरिएको छ ।

पहिलो ठेक्का रद्द भएपछि दुई पटक टेन्डर आह्वान गरिए पनि सफल हुन सकेन । एक पटक लागत भन्दा बढी प्रस्ताव आएपछि सम्झौता हुन सकेन भने अर्को पटक कुनै पनि कम्पनीले आवेदन नदिएको बताइएको छ ।

पुल निर्माण नहुँदा मध्यपहाडी राजमार्गको स्तरोन्नति र कालोपत्रे कार्यसमेत प्रभावित भएको छ । साथै, रुकुमपश्चिमबाट जाजरकोटसम्म सिधा यातायात सञ्चालन हुन नसक्दा स्थानीय वासीले सास्ती भोगिरहेका छन् ।

प्रारम्भिक ठेक्का लिएको निर्माण कम्पनीले काम नगरेपछि २०७९ मङ्सिर २९ गते ठेक्का सम्झौता औपचारिक रूपमा तोडिएको थियो । यससँगै ७२ लाख रुपैयाँ धरौटी र दुई करोड ६० लाख रुपैयाँ पेस्की जफत गरिएको थियो ।

साथै सार्वजनिक खरिद नियमावली, २०६३ अनुसार कम्पनीलाई ८ करोड ५७ लाख ९५ हजार ६ सय २६ रुपैयाँ जरिबाना तोकिएको थियो । १८ करोड रुपैयाँ लागतको उक्त आयोजनामा संलग्न वाइपी कन्स्ट्रक्सनका सञ्चालक राजु श्रेष्ठको निधनपछि निर्माण कार्य झनै प्रभावित भई अलपत्र परेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार