२०८२ चैत ३० , सोमबार

विवादपछि कर्णाली प्रदेशसभा सचिव बुढाथोकीको राजीनामा



सुर्खेत । निरन्तर विवादमा तानिँदै आएका कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले अन्ततः पदबाट राजीनामा दिएका छन् । ६५ वर्ष उमेर पूरा भइसकेपछि पनि पदमा रहिरहन खोजेको विषयमा सञ्चारमाध्यम तथा सार्वजनिक रूपमा व्यापक आलोचना भएपछि उनले राजीनामा दिन बाध्य भएका हुन् ।

प्रदेश सभा स्रोतका अनुसार बुढाथोकीले मंगलबार साँझ गोप्य रूपमा राजीनामा पत्र तयार गरी प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् । प्रदेश प्रमुख कार्यालयका एक अधिकारीले राजीनामा प्राप्त भएको पुष्टि गर्दै प्रदेश प्रमुख बाहिर रहेकाले फर्किएपछि मात्र आवश्यक निर्णय हुने बताएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशी हाल गृहजिल्ला कञ्चनपुरमा रहेका कारण राजीनामा स्वीकृत हुन केही समय लाग्ने देखिएको छ ।

बुढाथोकी पछिल्लो समय दोहोरो सुविधा लिएको, सार्वजनिक स्रोतको दुरुपयोग गरेको तथा आफ्नै श्रीमतीलाई स्वकीय सचिवमा राखेर तलब बुझाएको आरोपमा विवादमा थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेका थिए भने आयोगले दुई पटक स्पष्टीकरण माग्दै पत्राचार गरेको थियो । कर्मचारी स्रोतका अनुसार उनका धेरै प्रशासनिक अभिलेखहरू समेत व्यवस्थित नभएको र कामकाज पारदर्शी नभएको गुनासो रहँदै आएको थियो। ६५ वर्ष उमेर नाघेको तथ्य पनि आन्तरिक रूपमा स्पष्ट नभएपछि कर्मचारीहरूले औपचारिक रूपमा बायोडाटा माग्नुपर्ने अवस्था सिर्जना भएको बताइन्छ ।

उता, प्रदेशसभामा कार्यरत अन्य स्वकीय सचिवहरूको पारिश्रमिक रोक्का गरिए पनि आफ्नै श्रीमतीलाई भने नियमित तलब भुक्तानी गरिएको आरोपले थप आलोचना निम्त्याएको थियो। यसले सांसद र कर्मचारी दुवै तहमा असन्तुष्टि बढाएको देखिन्छ ।

यसबीच सभामुख नन्दा गुरुङले बुढाथोकीलाई पदमै निरन्तरता दिन प्रयास गरेकी थिइन् । सचिवालयसम्बन्धी ऐनमा ६५ वर्ष ननाघेको व्यक्ति सचिव हुन सक्ने व्यवस्था भए पनि कार्यकाल बाँकी रहँदा उमेर हद नाघेपछि के गर्ने भन्ने स्पष्ट व्यवस्था नभएको तर्क गर्दै सभामुखले कानुनी रायसमेत मागेकी थिइन् ।

तर, उक्त प्रक्रिया र भूमिकामाथि समेत प्रश्न उठेको थियो । राजनीतिक तथा प्रशासनिक दबाब बढ्दै गएपछि अन्ततः बुढाथोकीले राजीनामा दिएका हुन् । उनको राजीनामासँगै प्रदेशसभा सचिवको पद रिक्त भएको छ भने अब नयाँ नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार