२०८२ चैत ३० , सोमबार

कर्णालीका रणनैतिक आयोजनालाई प्राथमिकतामा राख्न सांसद सापकोटाको माग



सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाले कर्णालीका रणनैतिक आयोजनालाई संघीय सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले कर्णालीलाई लुम्बिनी प्रदेशसँग जोड्ने छोटो मार्ग सुर्खेत–मुलपानी–रानिघाट–तेलपानी सडकखण्ड अन्तर्गतको वर्षौदेखि अलपत्र रानिघटस्थित भेरी नदीमाथिको पुल तत्काल निर्माण कार्य अघि बढाउन माग गरे । सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरा अस्पताल, सुर्खेत विमानस्थल विस्तार, सुर्खेत–२ को विद्युतिकरणको कामलाई युद्धस्तरमा अघि बढाउनु पर्ने माग उनको छ ।

कर्णाली लगायत देशभर अलपत्र परेका आयोजना समयमै टुंगोमा पु¥याउन द्रुत न्यायिक तथा निर्णायक संयत्र निर्माण गर्नुपर्ने माग उनको छ । ४ सय ३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना, ९ सय मेगावाटको अपर कर्णाली जलविद्युत र सुर्खेतको चौकुने सिमेन्ट कारखान वर्षौदेखि अलपत्र रहेको विषयमा सापकोटाले सरकारको ध्यानाकर्षण गराए ।

कतिपय आयोजनाहरू प्रक्रियागत विवादले अन्योल कायम रहेको र कतिपय आयोजनाहरू इजाजत लिएर वर्षौदेखि होल्ड भएको उनले बताए । यसको अन्त्य सरकारले नीतिगत रूपमा गर्ने विश्वास सांसद सापकोटाको छ । उनले कर्णालीका उत्तर दक्षिण लाइफलाइन कर्णाली र भेरी कोरिडोरको पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता दिन माग गरे ।

यस्तै, कर्णाली प्रदेश अस्पतालको स्तरोन्तिमा संघीय सरकारको ध्यानाकर्षण उनले गराए । उनले कर्णालीका नागरिकलाई स्वास्थ्य सेवा पु¥याइरहेको अस्पतालमा स्वीकृत दरबन्दीको आधा मात्रै जनशक्ति व्यवस्थापन हुनु दुखद् रहेको उल्लेख गर्दै अस्पताललाई पाँच सय शय्यामा विस्तार गर्न संघीय सरकारले तत्काल काम थाल्नु पर्ने माग गरे ।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार