दैलेख । स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण क्रमशः बढ्दै जाँदा दैलेख जिल्लामा हालसम्म ४७ हजार ५० जना नागरिक यस कार्यक्रममा आबद्ध भएका छन् । यो संख्या जिल्लाको कुल जनसंख्या २ लाख ५३ हजार ३ सय १९ को करिब १८ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्डको स्थापना भएको १० वर्ष पूरा भएको अवसरमा ‘राज्यको लगानी, नागरिकको योगदानः स्वास्थ्य बीमा साझा अभियान’ भन्ने मूल नारासहित देशभर कार्यक्रमहरू आयोजना गरिँदै आएको छ । सोही अवसरमा स्वास्थ्य बीमा बोर्ड जिल्ला कार्यालय दैलेखले जिल्लामा बीमा कार्यक्रममा सहभागी नागरिकको तथ्यांक सार्वजनिक गरेको हो ।

स्वास्थ्य बीमा बोर्ड दैलेख शाखाका संयोजक सन्दीप पुनमगरका अनुसार जिल्लाका सबै स्थानीय तहबाट नागरिकहरू स्वास्थ्य बीमामा आबद्ध भइरहेका छन् । विवरणअनुसार भगवतीमाई गाउँपालिकामा ३ हजार ३ सय ६८, भैरवी गाउँपालिकामा ३ हजार ४ सय ७१, डुङ्गेश्वर गाउँपालिकामा ३ हजार ८ सय २०, गुराँस गाउँपालिकामा ३ हजार ७ सय ७८ र महाबु गाउँपालिकामा २ हजार ९ सय ८६ जना बीमामा आबद्ध छन् । त्यस्तै नौमुले गाउँपालिकामा २ हजार १ सय २४, ठाँटीकाँध गाउँपालिकामा ३ हजार ३ सय ३५, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ४ हजार ३६, आठबिस नगरपालिकामा २ हजार ९ सय ७३, दुल्लु नगरपालिकामा ८ हजार ४ सय ३४ तथा नारायण नगरपालिकामा सबैभन्दा बढी ८ हजार ७ सय २५ जना स्वास्थ्य बीमामा आबद्ध रहेका छन् ।
स्वास्थ्य बीमा बोर्डका अनुसार ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई व्यक्तिगत रूपमा निःशुल्क स्वास्थ्य बीमा सुविधा प्रदान गरिँदै आएको छ । त्यस्तै एचआईभी÷एड्स, क्षयरोग र कुष्ठरोगबाट प्रभावित व्यक्तिका परिवारका सबै सदस्यलाई पनि निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराइन्छ ।
महिला स्वास्थ्य स्वयंसेविकाका परिवारका लागि पनि विशेष व्यवस्था गरिएको छ । उनीहरूको स्वास्थ्य बीमा शुल्क नेपाल सरकारले ५० प्रतिशत र कर्णाली प्रदेश सरकारले थप ५० प्रतिशत व्यहोर्ने भएपछि उनीहरूका परिवारले पूर्ण रूपमा निःशुल्क सेवा पाउँदै आएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन पाँच सदस्यीय परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रति सदस्य थप ७ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ भने प्रत्येक थप सदस्यका लागि २० हजार रुपैयाँका दरले उपचार सेवा सुविधा पनि थपिने प्रावधान छ ।
स्वास्थ्य बीमा बोर्डले यस कार्यक्रमले नागरिकलाई सहज, सुलभ र पहुँचयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न महत्वपूर्ण सहयोग पु¥याइरहेको जनाएको छ । जिल्लामा बीमा कार्यक्रममा सहभागी संख्या बढ्दै जानु स्वास्थ्य सेवाप्रतिको जनचेतना वृद्धि र सरकारी कार्यक्रमप्रतिको विश्वास बढेको संकेतका रूपमा लिइएको छ ।







