२०८२ चैत ३० , सोमबार

आजबाट कर्णाली उत्सव



सुर्खेत । कर्णाली उत्सव ‘कुडा कर्नाली०काको सातौँ संस्करण आज शनिबारदेखि सुरु हुने भएको छ । वीरेन्द्रनगरको सिटी हल बाहिर प्राङ्गणमा हुने उक्त उत्सवमा सिने क्षेत्रका महानायक राजेश हमालदेखि जेनजी आन्दोलनकी चर्चित अगुवा रक्षा बमसम्म वक्ताका रुपमा आउने भएका छन् । आयोजक संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको छ ।

उत्सवका संयोजक कमलराज लम्सालका अनुसार, उत्सव शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चल्ने छ । ‘कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारी हो, उत्सव,’ उनले भने, ‘हरेक वर्ष फागुन ५, ६ र ७ गते हुँदै आएको यो उत्सव यो पटक आम निर्वाचनका कारण सरेर चैत मसान्तमा आइपुगेको हो ।’ उत्सवले सकरात्मकताको प्रवद्र्धनका साथसाथै विचारबाट नै विकास सम्भव हुन्छ भन्ने मान्यता स्थापित गर्न र नागरिकमा आशाको सञ्चार गर्न अधिकतम प्रयासहरु गरिरहेको लम्सालको दाबी छ ।

उनले अगाडी भने, ‘समृद्धिको सपना, उत्तरदायी शासन, मौलिकताको उजागर र प्रश्न गर्ने परम्परालाई आफ्ना मुख्य प्रयासका कर्णाली उत्सवले पुष्टि गरिसकेको छ ।’ विचारको विमर्शमार्फत समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने उद्देश्य राखेको उत्सवमा यो पटक विभिन्न क्षेत्रका विज्ञ, नीति, निर्माता र नागरिक समाजको सहभागिता रहने छ ।

उनका अनुसार, यो वर्ष तीन दिनमा १५ गटा विविधापूर्ण मुल सत्रहरू समावेश गरिएका छन् अन्य १० सानाछोटा सत्रहरू पनि हुनेछन् । जस अन्तर्गत कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरिरहेका तीनजना पैकेलोहरुले आफ्ना संघर्ष र सफलताका कथाहरु सुनाउने छन् ।

‘हामी मोक्षभूमि कर्णालीको आंगनबाट हामी ‘नारी नेतृत्व’देखि ‘सिमान्त मान्ठ’का स्वरहरु सुन्ने छौँ,’ लम्सालले भने, ‘साथै, ‘प्रतिरोधका पाइला’को पदचापदेखि ‘कर्नालीका सुईना’हरुमा बहस हुने छ ।’

बहसमा छ वटै राष्ट्रिय दलका सांसदहरुसँगको संवाद, जेनजी पुस्ताको सडकदेखि संसदसम्मको प्रभाव र पहुँच, ‘कनेक्टिङ कर्नाली’ अन्तर्गत ऊर्जा एवं प्रविधिको विकासमाथि सघन विमर्श हुने संयोजक लम्सालले बताए । साथै, महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’ कुराकानी, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति ‘रोवा रिग्पा’को चर्चा हुने छ । कार्यक्रमको सम्पुर्ण तयारी भइसकेको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार