२०८३ वैशाख ४ , शुक्रबार

चिकित्सक आन्दाेलित, पठनपाठनमा प्रभावित



जुम्ला ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान का चिकित्सक आन्दोलित भएपछि त्यहाँको पठनपाठन प्रभावित भएको छ ।  विभिन्न माग राख्दै चिकित्सक आन्दोलनमा उत्रिएपछि एक सातादेखि नियमित अध्ययन–अध्यापन ठप्प भएको हो । यद्यपि परीक्षा र अभ्यास शिक्षण भने सीमित रूपमा सञ्चालन भइरहे पनि कक्षा सञ्चालन हुन सकेको छैन । ३० चैतदेखि डिनको कार्यालयमा तालाबन्दी गरिएको छ, जसका कारण देशका विभिन्न स्थान तथा भारतबाट अध्ययनका लागि आएका विद्यार्थीहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

एक विद्यार्थीका अनुसार उनीहरू दैनिक कलेज आएर फर्किन बाध्य छन् । उनले विवाद चाँडो समाधान गरी नियमित पठनपाठन सुचारु गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । यता प्रतिष्ठानका अधिकांश पदाधिकारी कामका सिलसिलामा काठमाडौं बाहिर रहेका बेला आन्दोलन चर्किएको छ । आन्दोलनरत चिकित्सक डा. रविन खापुङका अनुसार पटक–पटक संवादमार्फत समस्या समाधान खोज्ने प्रयास गरिए पनि व्यवस्थापन पक्षले चासो नदेखाएको आरोप छ । उनका अनुसार अनावश्यक प्रशासनिक बोझ र असहज कार्य वातावरणका कारण फ्याकल्टीहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको अवस्था  छ ।

चिकित्सकहरूले योग्य फ्याकल्टीबाटै शैक्षिक पदपूर्ति, १० वर्षदेखि वृद्धि नभएको तलब समायोजन, कार्यसम्पादनमा आधारित करार प्रणाली लागू, जुम्ला आवतजावतको कठिनाइलाई ध्यानमा राखी ‘बाटो म्याद बिदा’को व्यवस्था, तथा फ्याकल्टी विकास समिति गठनलगायतका माग अघि सारेका छन् । विरोध वक्तव्यमा चिकित्सकहरूले आन्दोलनका कारण विद्यार्थी र सेवाग्राहीमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गर्दै आफ्नो व्यावसायिक हक र सम्मानका लागि आवाज उठाउनु बाध्यता भएको उल्लेख गरेका छन् ।

उनीहरूले संवादमार्फत छिटो समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । यसैबीच प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले चिकित्सकका माग तत्काल सम्बोधन गर्न कानुनी तथा संरचनागत जटिलता रहेको बताएका छन् । लोकसेवा आयोगमार्फत बढुवाको विकल्प भए पनि तत्काल कार्यान्वयनको वातावरण नभएको र कानुनअनुसार थप जिम्मेवारी दिन कठिन रहेको उनको भनाइ छ । समस्या समाधानमा ढिलाइ हुँदा शैक्षिक वातावरण थप प्रभावित हुने जोखिम बढेको छ भने विद्यार्थीहरू अन्योलमा परेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख २ गते बुधबार