हुम्ला । हिमाली जिल्ला हुम्लामा राष्ट्रिय आर्थिक गणनाको कार्य औपचारिक रूपमा सुरु भएको छ । यसका लागि छनोट भएका गणकहरू आ–आफ्ना कार्यक्षेत्रका गाउँपालिकामा पुगेर गणना कार्यमा जुटेका छन् । जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार आजदेखि सातवटै गाउँपालिकामा गणना कार्य सञ्चालनमा आएको हो । गणनाका लागि जिल्लाभर ११ जना गणक र २ जना सुपरिवेक्षक परिचालन गरिएको छ ।
गणकहरू सिमकोट, खार्पुनाथ, चङ्खेली र अदानचुली गाउँपालिकामा दुई–दुई जना तथा नाम्खा, सर्केगार्ड र ताँजाकोट गाउँपालिकामा एक–एक जना खटिएका छन् । त्यस्तै, सुपरिवेक्षकहरू ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगार्डमा एक–एक जना तथा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा एक जना गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । यो गणना कार्य आगामी असार ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
गणनामा खटिएका जनशक्तिले यसअघि आवश्यक तालिम लिएर आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा पुगिसकेका छन् । यस पटक हुम्लामा करिब २ हजार ८ सय आर्थिक प्रतिष्ठान रहेको अनुमान गरिएको छ, जुन २०७५ सालको गणनामा रहेका २ हजार १ सयभन्दा उल्लेख्य वृद्धि हो। यसले जिल्लामा आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत गरेको कार्यालयले जनाएको छ ।









