सुर्खेत । राष्ट्रिय गौरव आयोजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन परियोजनाको समग्र भौतिक प्रगति ६९ प्रतिशतमा सीमित रहेको छ । परियोजनाका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म वित्तीय प्रगति ५८ प्रतिशत मात्र पुगेको छ ।

आर्थिक वर्ष २०६८/०६९ मा सुरु गरिएको उक्त परियोजना प्रारम्भिक रूपमा ०७७/०७८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयसीमा अनुसार काम अघि बढ्न नसक्दा परियोजना अझै अपूरै छ । परियोजनाको समयतालिका संशोधन गर्दै २०७८/०७९ मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि अपेक्षित प्रगति हुन सकेको छैन ।
२०७१/०७२ देखि आयोजनास्थलमा काम सुरु भएको भए पनि विभिन्न कारणले निर्माण कार्य ढिलाइ हुँदै आएको छ । यति ठूलो राष्ट्रिय महत्वको परियोजनामा सुस्त प्रगति हुनुका साथै सम्पन्न हुने निश्चित समयसमेत तय हुन नसक्दा सरोकारवालाहरू चिन्तित बनेका छन् । आयोजना कहिले पूरा हुने भन्ने विषय अझै अन्योलमै रहेको छ ।
परियोजना व्यवस्थापन तथा सरोकारवालाहरूका अनुसार प्राविधिक जटिलता, बजेट व्यवस्थापनमा समस्या र ठेकेदारको सुस्त कार्यशैली मुख्य चुनौतीका रूपमा देखिएका छन् । परियोजनाको सुरुवाती चरणमै सुरुङ निर्माण जस्ता जटिल प्राविधिक काममा अपेक्षाअनुसार प्रगति हुन नसक्दा समग्र कार्यतालिका प्रभावित भएको बताइएको छ ।
साथै, समयमै पर्याप्त बजेट निकासा नहुँदा निर्माण कार्यले गति लिन नसकेको परियोजना स्रोतको भनाइ छ । कोरोना माहामारी, निर्माण सामग्रीको आपूर्ति समस्या तथा श्रमिक व्यवस्थापनमा कमजोरीका कारण पनि काममा ढिलाइ भएको जनाइएको छ । कोभिड–१९ महामारीका कारण केही समय निर्माण कार्य प्रभावित भएको तथा प्राकृतिक प्रकोपले पनि आयोजनाको गति सुस्त बनाएको सम्बन्धित पक्षले जनाएको छ ।
परियोजनामा देखिएको विविध चुनौतीका कारण पटक–पटक समयसीमा संशोधन गर्नुपरेको छ । तर परियोजना सम्पन्न हुने कुनै टुंगो छैन । परियोजनाको काम लक्ष्य अनुसार हुन्थ्यो भने दुई वर्षअघि नै सम्पन्न भई भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगिसक्थ्यो । यतिमात्र होइन, सोही परियोजना अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन भइसकेको पनि हुन्थ्यो ।
तर सुरुवाती लक्ष्यभन्दा तीन वर्ष ढिलो हुँदा पनि आयोजनाले गति लिन सकिरहेको छैन । सुरुमा परियोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख तोकिएको थियो । हालसम्म १९ अर्ब ४० करोड खर्च भएको छ । परियोजनाका प्रमुख हरिदत्त पौडेलका अनुसार आयोजनाको पछिल्लो म्याद चैत २० गते सकिएको छ । उनका अनुसार २०८२ भाद्रमा दोस्रो म्याद सकिएको थियो । त्यसपछि तेस्रो पटक २३० दिन थप भएको थियो ।
पुनः म्याद थपका लागि डकुमेन्ट पेस गरिएको आयोजना प्रमुख पौडेलले जानकारी दिए । चौथो पटक म्याद थपको फाइल सबै पेस भएको उनी बताउँछन् । तर विभागबाट अन्य कुराहरू प्रस्ट खुलाएर पेस गर्नु भनेको उल्लेख गर्दै थप ५÷६ वटा पोइन्टहरूको बारेमा विवरणहरू बुझाइएको उनको भनाइ छ ।
‘तत्काल काम नरोकियोस् भनेर एक महिनाका लागिमात्रै म्याद थप भएको छ । परियोजनाले थप सबै डकुमेन्ट बुझाइसकेपछि चौथो पटकको म्याद थप हुनेछ’ उनले भने, ‘यद्यपि आयोजनाले जुन रूपमा गति लिनुपथ्र्यो, त्यो अनुसार लिन सकेको छैन । आयोजनाका हरेक काममा ढिलाइ भइरहेका छन् ।’
सुस्त गतीमा के–के भए काम ?
सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा अवस्थित यो आयोजना अन्तर्गत भेरी नदीमा करिब १२० मिटर लामो ब्यारेजसहित डिसिल्टिङ बेसिन र ४.२० मिटर ब्यास भएको १२.२ किलोमिटर लामो सुरुङमार्फत ४० घनमिटर प्रतिसेकेण्ड पानी बबई नदीमा खसालिने लक्ष्य छ ।
जम्मा तीन वटा २३.४ मेगावाट क्षमताका टर्बाइनमध्ये अतिरिक्त एउटा टर्बाइन मर्मत सम्भारको बेलामा मात्र प्रयोग गर्ने गरी र बाँकी दुई वटा टर्बाइनको नियमित सञ्चालनबाट भेरीगङ्गा नगरपालिकाकै हात्तीखालस्थित बबई नदीको किनारमा जम्मा ४६.८ मेगावाट विद्युत् उत्पादन क्षमताको विद्युतगृह निर्माण गरी वार्षिक करिब ४०० गिगावाट आवर विद्युत् उत्पादन गरिने भनिएको छ ।
आयोजना सम्पन्न भएपछि बबई नदीमा उपलब्ध हुने थप ४० घनमिटर प्रतिसेकेण्ड पानीबाट बबई सिँचाइ आयोजनाको हेडवक्र्स उपयोग गरी बर्दिया र बाँके जिल्लाको करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ ।
आयोजनाको पहिलो चरणअन्तर्गत सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी कोभेकले तोकिएको समयभन्दा एक वर्षअघि नै २०७६ वैशाखमा सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । सुरुवाती चरणमा काम धमाधम भयो । १२.२ किलोमिटर टनेल निर्माण भयो । त्यसपछिका काममा केही ढिलाइ भयो । परियोजनाका अनुसार, अहिले दोस्रो चरणका काम भइरहेका छन् ।
२०८० साउन २९ भित्र बाँध निर्माण सक्ने गरी रमण÷ग्वाङ्डोन जेभीले काम सुरु गरेका थिए । टनेल बनिसकेपछि पावर हाउस र पछि बाँध बनाउन सुरु गरियो । ती काम ०७५÷०७६ पछि बल्ल सुरु भएका थिए । त्यो हिसाबले पहिलो चरणमा गर्ने भनिएकामध्ये टनेलको मात्रै काम भयो । बाँकी सबै दोस्रो चरणमै भए ।
अहिले दोस्रो चरणकै १.७ किलोमिटर ट्रान्समिसन लाइन बनाएर नेसनल ग्रिडमा जोड्नुपर्ने काम भइरहेको छ । त्यसका लागि वातावरणीय अध्ययनको प्रक्रिया सुरु भएको छ । त्यस्तै सर्च ट्याङ्क बन्न सुरु गरेको छ भने बाँध अन्तर्गत भेरी नदीको देब्रेपट्टिको साइटको कामहरू सकिने क्रममा छन् । भने यो वर्ष आधा बाँध बनिसक्ने देखिएको छ । यी काम दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने काम हुन् ।
समस्याग्रस्त परियोजना भन्ने खतरा
आयोजना प्रमुख पौडेलका अनुसार, आयोजना विलम्ब हुनुका पछाडि प्रमुख कारण निर्माण कम्पनी हुन् । ‘पहिलो कुरा, हाम्रो निर्माण व्यवसायीहरूको क्षमता कमजोर भयो’ उनले भने, ‘उनीहरूको जुन क्षमता मूल्याङ्कन गर्ने क्राइटएरिया छन्, त्यसमा केही कमी देखियो ।’
ठुलो र जटिल किसिमको काम गर्नलाई सक्षम र अनुभवी कन्ट्रयाक्टर छनोट होस् भन्ने चाहना अनुसार दस्तावेजहरूमा केही न केही छिद्र भएको उनले बताए । जसका कारण योग्य कन्ट्रयाक्टर छनोट हुन सकेन । त्यसै कारण आयोजनामा विलम्ब भयो । भने अब यो समस्याग्रस्त परियोजना भन्ने खतरा झन बढेको छ ।
पौडेलका अनुसार नेपाली कन्ट्रयाक्टरको मात्रै कार्य अनुभव, वित्तीय–आर्थिक क्षमता नपुगेर उनीहरूले जेभी गरे, पार्टनर खोजे । नेपाली रमण निर्माण सेवासँग ग्वाङ्डोन नाम चाइनिज कम्पनी छ, तर चाइनिज कम्पनी अहिले काममा नआएको परियोजना प्रमुख पौडेल बताउँछन् । यसबारे अहिलेसम्म चिनियाँ कम्पनीले जबाफ पनि नपठाएको उनले बताए ।
परियोजना अवधि २०८४/०८५ सम्म अद्यावधिक छ । यदि द्रुत गतिमा काम नहुने हो भने बाँकी दुई वर्षमा झन्डै ३१ प्रतिशत काम गर्न कठिन हुने विश्लेषण पनि परियोजना कार्यालयले गरेको छ ।








