२०८३ वैशाख ४ , शुक्रबार

बैशाख १३ देखि पञ्चकोशी धार्मिक पर्यटन मेला, पर्यटन प्रवर्द्धनसँगै पेट्रोलियम उत्खनन्को मुद्दा उठाइने



सुर्खेत। दैलेखको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चकोशी क्षेत्रमा यही वैशाख १३ देखि १९ गतेसम्म धार्मिक पर्यटन मेला आयोजना हुने भएको छ । पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखको आयोजनामा तथा दैलेखी सेवा समाज सुर्खेतको सहजीकरणमा मेला सञ्चालन हुन लागेको जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

संस्थाका अध्यक्ष नविन योगीका अनुसार मेलाको सञ्चालन तथा व्यवस्थापनका लागि दैलेखका स्थानीय तह र विभिन्न दानदाताबाट संकलित रकम प्रयोग गरिनेछ । उनले मेलाबाट संकलित स्रोतलाई पञ्चकोशी क्षेत्रको ऐतिहासिक अभिलेखीकरणमा उपयोग गरिने बताए । मेलाका क्रममा स्कन्दपुराण वाचनको विशेष कार्यक्रम समेत राखिएको छ, जसका लागि युवा वाचिकालाई आमन्त्रण गर्ने तयारी भइरहेको जनाइएको छ ।

आयोजकले मेलालाई धार्मिक र सांस्कृतिक प्रवर्द्धनसँगै विकाससँग जोड्ने प्रयास गरेको जनाएको छ । विशेषगरी जलजले क्षेत्रमा सम्भावित पेट्रोलियम उत्खनन कार्यलाई अघि बढाउन सरकारलाई दबाब सिर्जना गर्ने उद्देश्य पनि मेलासँग जोडिएको अध्यक्ष योगीको भनाइ छ । उनले क्षेत्रको ऐतिहासिक र सांस्कृतिक अस्तित्व जोगाउँदै उत्खनन प्रक्रिया अघि बढाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

संस्थाका सचिव बखतबहादुर नेपालीले मेलामा भारतबाट समेत पर्यटक भित्र्याउने तयारी भइरहेको जानकारी दिए । नेपाल–भारत नागरिक मैत्री संस्थाको समन्वयमा भारतीय तीर्थयात्री तथा पर्यटकलाई सहभागी गराउने योजना बनाइएको उनले बताए ।

दैलेखी सेवा समाज सुर्खेतका अध्यक्ष देवकुमार बिसीले पञ्चकोशी क्षेत्र केवल दैलेखको मात्र नभई कर्णाली प्रदेश र समग्र नेपालको पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको उल्लेख गरे । उनले यस क्षेत्रको पूर्वाधार विकास, संरक्षण र पर्यटन प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

आयोजकका अनुसार मेला अवधिभर धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विविध गतिविधि सञ्चालन गरिनेछ । यसले पञ्चकोशी क्षेत्रको पहिचान विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार