सुर्खेत । प्रतिनिधि सभा अन्तर्गतका ९ वटा विषयगत समिति र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त १ समितिमा सभापति पदका लागि परेका उम्मेदवारहरू निर्विरोध भएका छन् । बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा अधिकांश समितिमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध हुने निश्चित भएको हो । औपचारिक घोषणा भने सम्बन्धित समितिको बैठकबाट हुने बताइएको छ ।

प्रतिनिधि सभाको चैत २७ गते बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सबै समितिका सदस्यहरूको नाम अनुमोदन गर्दै सभापति चयन प्रक्रिया अगाडि बढाएका थिए । सोही अनुसार वैशाख ४ गतेका लागि सभापति चयनको मिति तय गरिएको थियो । तर, अधिकांश समितिमा प्रतिस्पर्धा नै नभएपछि निर्विरोध चयनको अवस्था सिर्जना भएको हो । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट बहुमत रहेको छ । उसका १८२ सांसद रहेका कारण अधिकांश समितिमा पनि रास्वपाको प्रभाव देखिएको छ । यही सङ्ख्यात्मक बलका आधारमा रास्वपाले ९ वटा समिति र एक संयुक्त समितिमा आफ्ना उम्मेदवार अघि सारेको थियो ।
रास्वपाबाट कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बाँस्कोटा निर्विरोध भएकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् र केही समयअघि मात्रै विवेकशील साझाबाट रास्वपामा प्रवेश गरेकी थिइन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरी निर्विरोध भएका छन् । उनी सुनसरी–३ बाट निर्वाचित सांसद हुन् ।
त्यसैगरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल निर्विरोध भएका छन् । सिन्धुली–२ बाट निर्वाचित गजुरेल पूर्वाधार क्षेत्रमा विज्ञका रूपमा पनि चिनिन्छन् । महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थी निर्विरोध भएकी छन्, जो समानुपातिकतर्फबाट संसद्मा पुगेकी हुन् ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल निर्विरोध भएका छन् भने उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी निर्विरोध भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा सुम्निमा उदास निर्विरोध भएकी छन् भने अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी निर्विरोध भएका छन् ।
त्यस्तै, प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनुवाइ विशेष समिति सभापतिमा बोधनारायण श्रेष्ठ निर्विरोध भएका छन् । उनी धादिङ–२ बाट निर्वाचित सांसद हुन् । सत्तारुढ रास्वपाले सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो । सोही अनुसार कांग्रेसका भरतबहादुर खड्का उक्त समितिको सभापतिमा निर्विरोध भएका छन् । यो समितिलाई संसदीय निगरानीको दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।
यद्यपि सबै समितिमा निर्विरोध चयन भने हुन सकेको छैन । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने प्रतिस्पर्धा देखिएको छ । यस समितिको सभापतिका लागि रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरु बरालबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै, संयुक्त समिति ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति’मा पनि प्रतिस्पर्धा हुने भएको छ । यस समितिमा नेकपा (माओवादी केन्द्र) की मदनकुमारी शाह र रास्वपाका गणेश कार्कीबीच चुनाव हुने तय भएको छ ।
समग्रमा हेर्दा संसदीय समितिहरूमा सभापति चयन प्रक्रियाले संसद्भित्रको शक्ति सन्तुलन स्पष्ट रूपमा देखाएको छ । बहुमतको आधारमा रास्वपाले अधिकांश समिति आफ्नो नेतृत्वमा राख्न सफल भएको छ भने प्रमुख प्रतिपक्षलाई एउटा महत्वपूर्ण समिति दिइएको छ ।
मुख्य सचेतक र सचेतक नियुक्त
राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् । बिहीबार बसेको पार्टी संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको एक सांसदले बताए । बुर्लाकोटी पार्टीका महामन्त्री हुन्। उनी गोरखा–२ बाट निर्वाचित हुन् । त्यस्तै सांसद प्रकाशचन्द्र परियारलाई सचेतक नियुक्त गरिएको छ । त्यस्तै सचेतकमा सांसद क्रान्तिशिखा धिताल नियुक्त भएको ती सांसदले बताए । प्रकाशचन्द्र परियार विवेकशील साझाबाट रास्वपामा समाहित भएका हुन् । रास्वपा केन्द्रीय सदस्य धिताल समानुपातिक सांसद हुन् ।
दलको उपनेतामा पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल उपनेतामा गणेश पराजुली चयन भएका छन् । बिहीबार बसेको संसदीय दल बैठकले काठमाडौं–७ बाट निर्वाचित पराजुलीलाई दल उपनेता चयन गरेका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । विहीबार नै बसेको संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको थियो भने प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतक नियुक्त गरेको बुर्लाकोटीले बताए । समानुपातिक सांसद परियार विवेकशील साझाबाट रास्वपामा समाहित भएका हुन् । रास्वपा केन्द्रीय सदस्य धिताल पनि समानुपातिक सांसद हुन् ।







