सुर्खेत । सडक दुर्घटनाबाट हुने मानवीय र आर्थिक क्षति बढ्दै गएपछि कर्णाली प्रदेशमा सडक सुरक्षाको अवस्था सुधार गर्न प्रदेशस्तरीय सुझाव सङ्कलन सुरु गरिएको छ । यो कार्यक्रम राष्ट्रिय सडक सुरक्षा परिषद्, कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र एसियाली विकास बैंक (एडिबी)को संयुक्त आयोजनामा गरिएको हो । शुक्रबार सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा प्रदेशका सडक सुरक्षाको वर्तमान अवस्था, विद्यमान कानुनी र संस्थागत संरचना, र प्रस्तावित सडक सुरक्षा विधेयक २०८१ सम्बन्धी सुझाव सङ्कलन गरिएको छ । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले नेपालका सडकको अवस्था नाजुक बन्दै गएको उल्लेख गर्दै जनधनको क्षति कम गर्न सुधार आवश्यक रहेको बताए ।
उनका अनुसार सडक दुर्घटनाले मानवीय जीवन मात्र नभई पूर्वाधारमा पनि व्यापक क्षति पुर्याएको छ । कर्णालीमा धेरैजसो सडक कच्चा र जीर्ण भएकाले सवारी साधन भिरबाट खस्ने घटना प्रमुख समस्या बनेको छ उनले भने । मन्त्रालयले सङ्कलित सुझावलाई आगामी सडक सुरक्षा विधेयकमा समावेश गर्ने तयारी गरिरहेको छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले पनि ग्रामीण क्षेत्रमा सडकको अवस्था चिन्ताजनक भएको र त्यसका कारण दुर्घटना बढेको बताए । मन्त्री बुढाले भने सहरमा पूर्वाधार विकास मापदण्डअनुसार भइरहेको छ, तर ग्रामीण क्षेत्रमा प्रायः डोजरले मन लाग्दा सडक बनाउने चलनले दुर्घटना बढाएको छ । त्यसैले सडक पूर्वाधारको व्यवस्थापन र जनचेतना अभियानलाई प्राथमिकता दिएको छ ।
एसियाली विकास बैंकका बरिष्ठ परियोजना अधिकृत हेमन्त तिवारीले कर्णालीमा सडक पहुँच बढेसँगै मोटरसाइकल र अन्य सवारी साधनको प्रयोग पनि बढेको र दुर्घटनाको संख्या त्यसैअनुपातमा बढेको बताए । उनले प्रदेशमा सडक सुरक्षालाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको जानकारी दिए । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार गत पाँच वर्षमा कर्णालीमा तिन हजार दुई ७४ वटा सडक दुर्घटना भएका छन् । यस अवधिमा चार हजार दुइ सय छ वटा सवारी साधन क्षतिग्रस्त भएका छन् भने छ सय ५५ जनाको मृत्यु, दुइ हजार ५० गम्भीर घाइते र चार हजार पाँच सय १८ सामान्य घाइते भएका छन् ।
दुर्घटनाको प्रकारमा दुईपाङ्ग्रे सवारी साधन सबैभन्दा बढी प्रभावित छन्, कुल दुई हजार ६४ वटा दुर्घटनामा परेका छन् । त्यसपछि कार/जिप छ सय ३३ ट्याम्पो चार सय २४, ट्रक/ट्याक्टर दई ३५ र बस दई २८ वटा दुर्घटनामा परेका छन् । विशेष रूपमा, ८०% दुर्घटना चालकको लापरबाहीका कारण भएको पाइएको छ, जसमा ८३% तीव्र गतिले दुर्घटना भएको देखिएको छ । अन्य कारणमा यात्रुको लापरबाही, सवारी साधनको दोष र सडकको अवस्था रहेका छन् । कार्यक्रमले सुझाव सङ्कलनको माध्यमबाट कर्णालीको सडक सुरक्षामा नीति सुधार, जनचेतना कार्यक्रम, पूर्वाधार मापदण्ड पालन र विधेयक निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।









